काठमाडौं । उपत्यकाका दुई महानगरपालिकाका मेयरले उपत्यकामा कोरोना संक्रमणले ‘खतराको घण्टी बजाएको’ देखेकाछन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल समाचारपत्रसँग कुरा गर्दै एकै विषयमा जोड दिए– ‘स्थानीय नागरिक स्वयम् सचेत भएर व्यवहार नगरेसम्म यस महामारीबाट पार पाउन सकिन्न ।’
‘कोरोना नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ, केही दिन बाहिरबाट आउने यात्रुलाई रोक्नुपर्छ’ –दुवैको धारणा छ । प्रहरी र स्थानीय प्रशासनले मात्र नभई यात्रु ओसार्ने र राजधानी पठाउने निकायलाई कोरोना नियन्त्रण गर्न सहयोग गर्न आग्रह गरेपछि मात्रै समस्या समाधान हुन सक्ने धारणा उनीहरुको छ ।
‘राजधानीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै मेयर शाक्यले भने– ‘बाहिरबाट उपत्यका प्रवेशमा कडाइ नगरेसम्म कोरोना नियन्त्रण गर्न सम्भव हुँदैन ।’
नागढुंगा, फर्पिङ, जगातेलगायत मुख्य नाकामा बाहिरबाट यात्रु ल्याएर बाटौमै छाड्ने सवारी चालकलाई कारबाही नगरेसम्म उपत्यकामा कोरोना संक्रमण रोक्न नसकिने उनको धारणा थियो ।
यसै गरी, मेयर महर्जनले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेपछि मात्र केही मात्रामा कोरोना नियन्त्रण हुन सक्ने बताउँदै त्यसका लागि गृह मन्त्रालयले चासो दिनुपर्ने बताए ।
काठमाडौंका मेयर अध्यक्ष रहेका उपत्यकाका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न सरकारलाई आग्रह गरेपछि चेकजाँच शुरु गरिएको स्मरण गराउँदै उनले भने– ‘अब पुनः बैठक बसेर उपत्यकामा थप कडाइ गर्ने विषयमा छलफल गर्न जरुरी भएको छ ।’
ललितपुर महानगरले कारोना नियन्त्रण गर्न क्वारेन्टाइन, होल्डिङ सेन्टर, एम्बुलेन्सलगायत अन्य सेवा सञ्चालन गरी आफ्नो जिम्मेवारी वहन गरिरहेको जानकारी गराउँदै महर्जनले सबै संयन्त्र प्रयोग गरी कोरोना नियन्त्रण गर्ने प्रयास गरिरहेकाे जानकारी दिए ।
ललितपुर महानगरमा कोराना संक्रमण नियन्त्रण गर्न अनिवार्य मास्क लगाउनुपर्ने बाध्यकारी व्यवस्था लागू गराएको छ । ‘मास्क नलगाई बाहिर निस्केको देखेमा तत्काल कारबाही गर्न प्रहरीलाई आग्रह गरेको र सोहीअनुसार केहीलाई कारबाहीसमेत गरिसकेको मेयर महर्जनको भनाइ थियो ।
कामपाले कोरोना संक्रमण नियन्त्रण गर्न कामपाले झन्डै १० करोड खर्च गरिसकेको छ । ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले कोरोना संक्रमण रोकथाम गर्न करिब ४ करोड रुपियाँ खर्च गरेको बताए ।
ट्राफिक प्रहरीका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय १३ प्रहरी क्वारेन्टाइमा बसेका छन् । उपत्यकाका भित्री शहरमा समेत कोरोना संक्रमित भेटिएका छन् । उपत्यकाका भित्री महाबौद्ध, असन, इन्द्रचोक, ओमवहाललगायतका क्षेत्रमा कोरोना संक्रमित भेटिएका छन् ।
दुवै महानगरले कोरोना संक्रमण बढ्न सक्ने भन्दै विभिन्न चाडपर्व घरमै बसेर मनाउने निर्णय गरिसकेका छन् । यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ ।
राजधानीका दुई मेयरले देखे ‘खतराको घण्टी’
