कर्णाली प्रदेश सरकारमा सहभागी एमालेका तीन मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका हुन् ।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक बसेको थियो । तीन जना मन्त्री राजीनामा दिएर नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । सर्वोच्च अदालतको फैसलाबाट नेकपा विभाजन भएपछि एमालेले यही चैत्र ४ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियोे ।

कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्ये माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेको पत्र संसदलाई बुझाएको छ । अब प्रदश सभामा ३९ जना संसद छन् । यी मध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *