काठमाडौं । प्रहरी निरीक्षक भएको भन्दै एक व्यक्तिलाई मुद्दा नचलाइ छुटाइदिने भन्दै दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १० गते दिउँसो करिब २ बजे एक व्यक्तिलाई प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएको थियो। त्यसपछि उनका भाइ भेट्न जाँदा त्यहाँ रहेका व्यक्तिहरूले आफू प्रहरी निरीक्षक भएको बताउँदै दाजुलाई छुटाइदिने भन्दै दुई लाख रुपैयाँ माग गरेको आरोप छ।
उनीहरूले होटल खर्चसमेत तिर्न लगाएको र उक्त रकम तिर्न अस्वीकार गरेपछि फोन तथा म्यासेजमार्फत विभिन्न धम्की दिई मानसिक तथा आर्थिक तनाव दिएको सूचना प्रहरीले प्राप्त गरेको थियो।
सूचनापछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, वीरेन्द्र चोकबाट घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ घर भई काठमाडौं चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई काठमाडौं कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ घर भई काठमाडौं हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई भक्तपुर दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई काभ्रेपलाञ्चोकको बनेपा बस्ने ३० वर्षीय हर्क सिंह भोलन रहेका छन्।
पक्राउ परेका पाँचै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
