काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । मंसिर ८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएपछि आज बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बैठक बस्न लागेको हो ।
कांग्रेसका अनुसार बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले बैठकमा धारणा राखिसकेका छन् । बैठकमा केन्द्रीय सदस्य, प्रदेश सभापति तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने सदस्यहरूले पार्टीका विभिन्न समसामयिक विषयमा आफ्ना विचार राखिरहेका छन् ।
यसैबीच, बिहीबारको बैठकले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुमबासी परिवारलाई अस्थायी आश्रयस्थलबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको थियो । उक्त निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ ।
कांग्रेसले सुकुमबासीका घर भत्काउँदा उचित व्यवस्थापन र लालपुर्जाको व्यवस्था गर्ने आश्वासन दिइए पनि महिनौँसम्म उनीहरूलाई अनिश्चिततामा राखिएको जनाएको छ । यस्तो अवस्थामा अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोज्नु उचित नभएको पार्टीको भनाइ छ ।
राज्य नागरिकको अभिभावक भएकाले घरबारविहीन नागरिकलाई सुरक्षित आश्रय उपलब्ध गराउनु सरकारको दायित्व रहेको कांग्रेसले उल्लेख गरेको छ । साथै, होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक तथा दीर्घकालीन पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
