क्वालालम्पुर । मलेसिया एयरलाइन्सले आफ्नो विमान बेडा आधुनिकीकरण गर्दै लामो दूरीको उडान क्षमता विस्तार गर्न १० वटा बोइङ ७८७–१० ड्रीमलाइनर विमान खरिद गर्ने घोषणा गरेको छ ।
सम्झौताअनुसार थप छवटा विमान खरिद गर्न सक्ने विकल्पसमेत कम्पनीलाई उपलब्ध हुनेछ ।मलेसिया एयरलाइन्सको मूल कम्पनी मलेसिया एभिएसन ग्रुप (एमएजी) का अध्यक्ष नसरुद्दीन ए बकरले बुधबार क्वालालम्पुरमा विमान खरिदसम्बन्धी जानकारी दिएका हुन् ।
उनका अनुसार विस्तृत मूल्याङ्कनपछि ड्रीमलाइनर विमानलाई छनोट गरिएको हो । यसले कम्पनीको दीर्घकालीन विस्तारका लागि आवश्यक क्षमता, सञ्चालन लचकता र इन्धन दक्षता प्रदान गर्ने उनले बताए ।
सम्झौताको वास्तविक मूल्य सार्वजनिक गर्न अस्वीकार गर्दै अध्यक्ष बकरले यसलाई एमएजी र बोइङबीचको व्यावसायिक कारोबार बताए ।
यद्यपि, थप छुटअघि १६ वटा विमान र तिनका इन्जिनको सूची मूल्य करिब नौ अर्ब ३० करोड अमेरिकी डलर रहेको उहाँले जानकारी दिए ।
विमान निर्माता कम्पनीहरूले ग्राहकलाई दिने छुटका कारण वास्तविक खरिद मूल्य फरक पर्ने भएकाले पछिल्लो समय सूची मूल्य सार्वजनिक गर्न छाडेका छन् ।
करिब ३३० यात्रु बोक्न सक्ने बोइङ ७८७–१० ले एयरबस ए३५०–९०० र ए३३०–९०० नियोसँग प्रतिस्पर्धा गर्नेछ । मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र इन्धन दक्षताको आवश्यकताबीच अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले विमान बेडा आधुनिकीकरण गरिरहेका बेला मलेसिया एयरलाइन्सको यो घोषणा आएको हो ।
एमएजीले गत वर्ष मार्चमा ३० वटा बोइङ ७३७–८ र ७३७–१० विमान खरिद गर्ने घोषणा गरेको थियो । अध्यक्ष बकरले नयाँ विमान छनोट यस दशकमा मलेसिया एयरलाइन्सका लागि सबैभन्दा महत्त्वपूर्ण विमान बेडा विस्तारसम्बन्धी निर्णयमध्ये एक भएको बताए । यसबाट खरिद गरिने विमानले आगामी दशकसम्म यात्रुलाई सेवा प्रदान गर्ने उनको भनाइ छ ।
