काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २० औँ संस्करण बुधबारदेखि रुपन्देहीा सुरु भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको अभ्यासको मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले शुभारम्भ गरेका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुवै देशका गणस्तरका सैनिक सहभागी हुने उक्त अभ्यास मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ । वि.सं. २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।
अभ्यासका क्रममा मुख्यतः विपद् व्यवस्थापन, जङ्गल युद्धकला र मानवीय सहायतासम्बन्धी विषयमा दुवै देशका सैनिकले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गर्ने निर्देशनालयले जनाएको छ ।
यस किसिमको सैनिक अभ्यासले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको पेसागत ज्ञान र आपसी समझदारी अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

