-नारायण पौडेल ।
वैचारिकरुपमा नेपाल स्वर्णिम युगमा प्रवेश गरेको छ । स्वर्णिम युगबारे चर्चा गर्नु अघि पृष्ठभूमी छिमोलौं । टेलिभिजन प्रस्तोताका रुपमा रवि लामिछानेले भनेका थिए– भारतीय शासकका अगाडि कट्टुमा छुल्छुली मुत्नेले सीमाको रक्षा कसरी गर्न सक्छन् ? उनले पानीको घुड्को नखाइ ज्यानको बाजी थापेर देशको सीमा जोगाउन लडेका भक्ति थापाहरुको सम्मानमा ग्रेटर नेपालको नक्सा टेलिभिजन लाइभमा प्रदर्शन गरेका थिए । उता बालेन्द्र साहले काठमाडौँ महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेका थिए । उनले भदौको हिंसात्मक घटनाको ठीक अघि चीन गएका प्रधानमन्त्री ओलीलाई लिपुलेक नेपालको हो भनेर सम्झाउन नबिर्सुनु होला भन्दै शुभकामना दिएका थिए । बालेन्द्रले प्रधानमन्त्री भएपछि पनि पार्टी महाधिबेशनलाई सम्बोधन गर्दै भनेका थिए– हामीसँग लिपुलेक हाम्रो हो भन्ने प्रमाण छ, हामी उनीहरुसँग सजिलै दाबी गर्छौं ।
निकट विगतका दावी र वक्तव्य हेर्दा भारत भ्रमणको मूल एजेण्डा सीमा समाधान हुनुपथ्र्यो । तर, सीमा बिबादको स उच्चारित भएन, लिखतमा जङ्गे पिलारको मर्मत र सीमा बिषय भनेर टुच्च उल्लेख भएको बताइन्छ । ओलीलाई लिपुलेक नेपालको हो भनेर सम्झाउन नभुल्नु नि भनेर उर्दी जारी गरेका बालेन्द्र स्वंयमले सो कुरा चटक्क बिर्सिदिए । तर, पोलिटिकल मास हिष्ट्रिया यस्तो छ कि बोली र व्यवहारमा आकाश जमिनको अन्तर पर्दा पनि बालेन्द्रको वाहीवाही नै छ । उनका समर्थक उनले लिपूलेक सम्झाउ है भन्दा पनि वाह गरिरहेका थिए, बिर्सें है भन्दा पनि क्या बात भनिरहेका छन् ।
वाही वाही बालेन्द्रको भएपनि नेपाल राजनीतिकरुपमा स्वर्णिम युगमा प्रवेश गरेको छ । भारतीय उपमहाद्धीपको सेरोफेरो मेरो भन्ने भारतीय मनोविज्ञान हामीले बुझिदिनुपर्छ भनेर सार्वजनिकरुपमा बोल्ने हिम्मत गरेका स्वर्णिमले बालेन्द्रलाई आफ्नो लाइनमा हिडाउन सफल भएका छन् । भारतको प्रभुत्व स्वीकार्दै उसको सहयोग लिएरमात्र नेपाल समृद्ध हुन सक्छ भन्ने स्वर्णिमको स्पष्ट बुझाइ छ, जसलाई उनले साउथ एसियन मोनरो डक्ट्रिन भन्दै आएका छन् । नेपालले पहिलो पटक साउथ एसियन मोनरो डक्ट्रिनलाई संस्थागतरुपमा आत्मसाथ गरेको देखिन्छ । भारतले ईपिजीको सान्दर्भिकता सकिएको भनेर बालेन्द्र भ्रमण लगत्तै भनिदिएको छ ।
बालेन्द्रले मोदीका सामुन्नेमा गौतम बुद्ध नेपालमा जन्मेको भनिदिए भनेर एकथरीले सामाजिक सञ्जालमा हर्ष बढाइँ र महिमागान गरिरहेका छन् । मोदी तिनै हुन् जसलाई र्याल चुहाउँदै भएपनि शेरबहादुर देउवाले लुम्बिनी लगेर बुद्धको प्रार्थना गराएका थिए, मोदीले बुद्धको जन्मस्थलमा आउन पाउँदा गर्वान्वित भएको भनेर सशरीर वक्तव्य दिएका थिए । विश्मरण शक्ति बलियो भएकाका लागि ९ महिना अघि नेपाल बनेको थियो, अब उँभो लाग्ने प्रकृयामा छ । स्वर्णिम युगको शुरुवात भएकोमा डाक्टर स्वर्णिमलाई बधाई !
