नेपाल–भारत सम्बन्ध हिमालयजस्तै अटल र महासागरजस्तै विशाल : प्रधानमन्त्री साह

नयाँदिल्ली । प्रधानमन्त्री बालेन साहले नेपाल–भारत सम्बन्ध आपसी सम्मान, अटल विश्वास र अटुट सद्भावमा आधारित रहेको बताएका छन्। उनले दुई देशबीच भएका सहमति र अघि बढाइएका परियोजनाले किसान, युवा, विद्यार्थी तथा उद्यमीका लागि प्रत्यक्ष अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री साहले हैदरावादम आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली जनता, भगवान् पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद र सद्भाव भारत तथा भारतीय जनताप्रति बोकेर आफू आएको बताएका छन्।

न्यानो आतिथ्य र भ्रमणको निमन्त्रणाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै उनले नेपाल–भारत सम्बन्ध हिमालयजस्तै अटल र महासागरजस्तै विशाल रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री साहले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले सहयोग गर्दै आएको भन्दै भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन्।

उनले हालै सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षमा स्पष्ट, सारगर्भित र अग्रगामी छलफल भएको बताउँदै त्यसबाट प्रमुख पूर्वाधार परियोजनाहरूको उद्घाटन, शिलान्यास तथा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएको उल्लेख गरेका छन्।

आज भएका समझदारी र परियोजनाहरूको प्रतिफल किसानको खेतबारीमा समृद्धि, युवाको हातमा रोजगारी र अवसर, विद्यार्थीका सपनामा नयाँ क्षितिज तथा उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका मार्गका रूपमा रूपान्तरण हुनुपर्ने उनले बताएका छन्।

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन ऐतिहासिक उपलब्धिहरूले आधार तयार गरेको भन्दै उनले दीर्घकालीन सम्बन्धको बलियो जगमा भविष्यका लागि नयाँ स्तम्भ निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

जलवायु परिवर्तनको चुनौतीबारे बोल्दै उनले हिमालयबाट बग्ने नदीहरूले दुवै देशका करोडौँ मानिसको जीवन धानेको र साझा भविष्य तथा नियतिसँग जोडिएको स्मरण गराएका छन्। जलवायु परिवर्तनका चुनौती सामना गर्न सामूहिक प्रयास अपरिहार्य रहेको उनको भनाइ छ।

भगवान् राम र माता जानकीको पावन युगदेखि नेपाल र भारत ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धमा बाँधिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले आज उद्घाटन गरिएको रेल सम्पर्कले उक्त सम्बन्धलाई थप जीवन्त बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले ऐतिहासिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत युवा पुस्ताका लागि अवसरका ढोका खोल्ने रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताएका छन्।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू, आदरणीय मित्रहरू सबैमा नमस्कार।

भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद एवं नेपाली जनताको स्नेह, प्रेम र सद्भाव भारत र भारतीय जनताप्रति बोकेर म यहाँ आएको छु। यस गरिमामय निमन्त्रणा र न्यानो आतिथ्यका लागि म प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई हार्दिक आभार व्यक्त गर्दछु।

आपसी सम्मान, अटल विश्वास र अटुट सद्भाव नेपाल–भारत सम्बन्धका आधारशिला हुन्। यो अतुलनीय सम्बन्धको केन्द्रमा हाम्रा दुवै देशका जनता रहेका छन्। नेपाल र भारतबिचको सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ। यो यति गहिरो आत्मीयता हो जसलाई शब्दले मात्र व्यक्त गर्न सकिँदैन।

एक भरपर्दो र विश्वसनीय छिमेकीका रूपमा भारत प्राकृतिक विपद् र कठिन घडीहरूमा सधैँ अग्रपङ्क्तिमा रहेर सहयोग गर्न उभिएको छ। यसका लागि म भारत सरकार र भारतीय जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।

भर्खरै हामीले शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र आधुनिक बनाउने लक्ष्यका साथ आ–आफ्ना प्रतिनिधिमण्डल स्तरको वार्ता सम्पन्न गरेका छौँ, जसमा हाम्रो बहुआयामिक द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा स्पष्ट, सारगर्भित र अग्रगामी छलफल भएको छ। यसै सन्दर्भमा, प्रमुख पूर्वाधार परियोजनाहरूको उद्घाटन र शिलान्यासका साथसाथै नेपाल–भारत सहकार्यका विविध क्षेत्रहरूमा महत्त्वपूर्ण समझदारीहरू भएका छन्।

आज हामीबिच भएका समझदारी र अघि बढाइएका परियोजनाहरूको प्रतिफल हाम्रा किसानहरूको खेतबारीमा समृद्धिका रूपमा, युवाहरूको हातमा रोजगारी र अवसरका रूपमा, विद्यार्थीहरूका सपनामा नयाँ क्षितिजका रूपमा र उद्यमीहरूका लागि नयाँ बजार, लगानी तथा व्यवसाय विस्तारका ठोस मार्गका रूपमा रूपान्तरित हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।

मित्रहरू, यी ऐतिहासिक कोसेढुङ्गाहरूले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछन् भन्नेमा म विश्वस्त छु। यो चिरस्थायी सम्बन्धको बलियो जगमा उभिएर भविष्यका लागि बलिया स्तम्भहरू निर्माण गर्नु आजको आवश्यकता हो।

स्वच्छ पानीको स्रोतका रूपमा रहेका हाम्रा हिमालहरूले यस क्षेत्रका करोडौँ मानिसहरूको जीवन धानेका छन्। हिमालयबाट बगेर गङ्गामा मिसिने कञ्चन नदीहरूले हामीलाई हाम्रो साझा भविष्य र नियतिको स्मरण गराउँछन्, जसले सामूहिक प्रयासबाट जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्नुपर्ने अपरिहार्यतालाई जोड दिन्छ।

भगवान् राम र माता जानकीको पावन युगदेखि नै नेपाल र भारत ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत बन्धनमा बाँधिएका छन्। आज हामीले यस बन्धनलाई अझ जीवन्त बनाउन रेल कनेक्टिभिटीको उद्घाटन गरेका छौँ। हाम्रा पूर्वजहरूले राखिदिनुभएको बलियो ऐतिहासिक जगमा टेकेर, आज इतिहासले हामीलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल–भारत सम्बन्धलाई युवा पुस्ताका लागि अवसरका ढोका खोल्ने रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने असाधारण जिम्मेवारी सुम्पिएको छ।

मित्रहरू, यस अवसरमा म भारतीय लगानीकर्ताहरूलाई हाम्रा दुवै देशको आर्थिक समृद्धिमा साझेदार बन्न नेपालमा हार्दिक स्वागत गर्दछु। आगामी दिनहरूमा, हामीले नेपालमा स्थापना हुने आइआइटी (IIT) मा भारतीय विद्यार्थीहरूसमेत अध्ययन गर्न आउने वातावरण तयार पार्नुपर्छ र साथै हाम्रा नागरिकहरूको सुविधाका लागि दुवै देशका सहरहरूबिचको सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्छ।

साझा र समृद्ध भविष्यतर्फ हाम्रो संयुक्त कार्यलाई अगाडि बढाउन, हामी हाम्रो संयुक्त दृष्टिकोण दस्ताबेज (ज्वाइन्ट भिजन डकुमेन्ट) प्रस्तुत गर्नेछौँ र संयुक्त प्रेस विज्ञप्तिमार्फत हाम्रा साझा उपलब्धिहरूलाई उजागर गर्नेछौँ।

यस महत्त्वपूर्ण अवसरमा, सम्पूर्ण नेपाली जनताका तर्फबाट म प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई नेपाल भ्रमणको हार्दिक निमन्त्रणा गर्दछु। साथै, म मित्रराष्ट्र भारतका जनतालाई हिमालको काखमा अवस्थित मुक्तिनाथ, भगवान् पशुपतिनाथ, तराईको उर्वर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भूमि नेपाल भ्रमण गर्न हार्दिक आमन्त्रण गर्दछु।

नेपाल र भारतबिचको मित्रता हिमालय जत्तिकै अग्लो विश्वास, नदी जत्तिकै निरन्तर बगिरहने सहकार्य र हाम्रो साझा आकाशमुनि दुवै राष्ट्रको समृद्धि फस्टाउने किसिमको रहोस्। हामी सबैको कल्याण होस्। धन्यवाद।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *