नयाँदिल्ली । नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार, फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक अधिकारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, शहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा सहकार्य गरिनेछ ।
त्यस्तै, गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्स युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच फरेन्सिक विज्ञानको अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने, भारतको नेसनल डिफेन्स युनिभर्सिटी र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच प्रहरी तालिममा सहकार्य गर्ने समझदारी भएको छ।
भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजले नेपाली सरकारी अधिकारीलाई तालिम तथा प्रशिक्षण दिनेछन् । आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको विकासमा पनि दुवै देशले सहकार्य गर्ने भएका छन् स्याटेलाइट सञ्चारतर्फ भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल निर्माण गर्ने समझदारी भएको छ।
त्यसैगरी, दिगो शहरी विकासमा प्राविधिक सहयोग, स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रमा सहकार्य र पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकासका लागि पनि दुवै देशबीच समझदारी भएको छ ।
