काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेन साहलाई नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादा कायम राख्न सुझाव दिएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध पारस्परिक सम्मान, समानता र राष्ट्रिय हितका आधारमा अघि बढाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने भन्दै आचार्यले भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल तथा राष्ट्रपतिसँग परामर्श नगरेकोप्रति पनि प्रश्न उठाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई भ्रमणको शुभकामना दिँदै यस्तो महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय चासोका विषयमा राजनीतिक दलहरूसँग परामर्श गर्नु लोकतान्त्रिक अभ्यास र संस्थागत मर्यादाका दृष्टिले महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् ।
सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको स्थापित अडान, ऐतिहासिक प्रमाण र राष्ट्रिय सहमतिअनुसार स्पष्ट तथा जिम्मेवार प्रस्तुति रहने अपेक्षा व्यक्त गर्दै आचार्यले मित्रवत् सम्बन्ध सुदृढ बनाउँदै आफ्ना राष्ट्रिय चासो दृढतापूर्वक राख्न सक्नु नै प्रभावकारी कूटनीति भएको बताएका छन् ।
‘नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुपर्ने परिस्थिति नआओस्। लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला,’ आचार्यले लेखेका छन् ।
उनले चुनावी घोषणापत्रमा उल्लेख गरिएका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता भाषण तथा प्रचारमा मात्रै सीमित नहोस् भन्दै प्रधानमन्त्रीलाई राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादा स्मरण गराएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीच विश्वास बढाउने र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गर्ने अपेक्षा व्यक्त गरेका आचार्यले भ्रमणपछि उपलब्धि तथा समझदारीबारे संसद् र जनतालाई जानकारी गराउन पनि आग्रह गरेका छन् ।
