काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले भारतको नयाँदिल्लीमा आयोजित प्रथम सभ्यतागत संवाद मञ्चमा नेपालका बहुसांस्कृतिक पहिचान, साझा सभ्यतागत विरासत र क्षेत्रीय सांस्कृतिक सहकार्यको महत्त्व औँल्याएका छन् ।
शंघाई सहयोग संगठन (एससीओ)को सभ्यतागत संवादमा नेपालको प्रतिनिधित्व गर्दै मन्तव्य दिएका मन्त्री पौडेलले नेपाल विविध भाषा, संस्कृति, धर्म, दर्शन र परम्पराको संगमभूमि रहेको उल्लेख गर्दै सभ्यताहरूबीचको संवाद, आदानप्रदान र पारस्परिक सम्मानले मानव सभ्यतालाई समृद्ध बनाउने बताएका हुन् ।
भारत सरकारप्रति आतिथ्य र सहभागिताको अवसरका लागि आभार व्यक्त गर्दै उनले सभ्यता केवल भौगोलिक सीमा, स्मारक वा राज्यसत्ताको इतिहास नभई विचार, दर्शन, भाषा, आस्था, संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञानको जीवन्त निरन्तरता भएको बताए ।
भारत र चीनको बीचमा अवस्थित नेपाल ऐतिहासिक रूपमा गङ्गाको मैदान र तिब्बती पठार तथा दक्षिण र मध्य एसियाबीच महत्वपूर्ण सेतु रहँदै आएको उनले उल्लेख गरे ।
नेपाल १४२ जातजाति तथा समुदाय र १२४ मातृभाषाहरूको साझा भूमि भएको उल्लेख गर्दै मन्त्री पौडेलले खस, किरात, मिथिला र नेवार सभ्यतादेखि विभिन्न आदिवासी, जनजाति तथा स्थानीय परम्पराले नेपालको सांस्कृतिक पहिचानलाई समृद्ध बनाएको बताए । हिन्दु, बौद्ध, किरातलगायत आध्यात्मिक परम्पराहरूबीचको सहअस्तित्व नेपालको सांस्कृतिक सम्पदा र राष्ट्रिय पहिचानको आधार भएको उनको भनाइ थियो ।
नेपाल भगवान् गौतम बुद्धको जन्मभूमि भएको उल्लेख गर्दै उनले लुम्बिनीबाट फैलिएको शान्ति, करुणा, अहिंसा र मध्यम मार्गको सन्देश विश्व मानवताका लागि नेपालको महत्वपूर्ण योगदान भएको बताए ।
मिथिलाको दार्शनिक विरासत, राजा जनक र माता सीतासँग जोडिएको ऐतिहासिक परम्परा, महर्षि वेदव्यासको योगदान तथा नेपाली कलाकार अरनिकोले तिब्बत, चीन र मङ्गोलियासम्म पु¥याएको कला र शिल्प परम्परालाई पनि उनले साझा सभ्यतागत सम्बन्धका उदाहरणका रूपमा प्रस्तुत गरे ।
पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ र मुक्तिनाथजस्ता धार्मिक स्थलहरू आस्था, तीर्थयात्रा र सांस्कृतिक आदानप्रदानका जीवन्त केन्द्र रहेको बताउँदै मन्त्री पौडेलले पशुपतिनाथ विभिन्न धार्मिक तथा आध्यात्मिक परम्पराबीचको सहअस्तित्वको प्रतीकसमेत रहेको उल्लेख गरे ।
नेपालले बौद्ध दर्शन, संस्कृत साहित्य तथा प्राचीन पाण्डुलिपिहरूको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए । नालन्दा र तक्षशिलाजस्ता प्राचीन ज्ञानकेन्द्रहरू प्रभावित भएका ऐतिहासिक कठिन समयमा शान्तरक्षित र पद्मसम्भवलगायत विद्वान् तथा भिक्षुहरू नेपाल आएर ज्ञान तथा पाण्डुलिपि संरक्षणको परम्परालाई योगदान दिएको प्रसङ्ग उनले उल्लेख गरे ।
काठमाडौं, पाटन र भक्तपुरका ऐतिहासिक सहर, मन्दिर, स्तूप, गुम्बा, विहार, काष्ठकला, धातुकला र चित्रकलाले नेपाली पुर्खाहरूको सिर्जनात्मक क्षमताको प्रतिनिधित्व गर्ने बताउँदै उनले मुस्ताङ र डोल्पाका हिमाली सभ्यता तथा प्राचीन व्यापारिक मार्गहरू पनि साझा सांस्कृतिक सम्बन्धका महत्वपूर्ण प्रमाण भएको बताए ।
सभ्यता विगतको गौरवमा मात्र सीमित नभई त्यसबाट प्राप्त ज्ञान र प्रज्ञालाई वर्तमानमा उपयोग गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने जिम्मेवारीसमेत भएको मन्त्री पौडेलको भनाइ थियो ।
जलवायु परिवर्तन, प्राकृतिक विपद्, तीव्र सहरीकरण र परम्परागत ज्ञानको क्षयीकरणले सांस्कृतिक सम्पदामाथि चुनौती थपिरहेको उल्लेख गर्दै उनले एससीओ सदस्य राष्ट्रहरूबीच सम्पदा संरक्षण, पाण्डुलिपिको डिजिटल अभिलेखीकरण, अनुवाद, अनुसन्धान, सांस्कृतिक आदानप्रदान तथा साझा तीर्थयात्रा र सांस्कृतिक पर्यटन मार्ग विकासमा व्यावहारिक सहकार्य आवश्यक रहेको बताए ।
नयाँ पुस्तालाई स्मारक र पाण्डुलिपि मात्र नभई ती सिर्जना गर्ने सभ्यताको मूल चेतना, मूल्य, दर्शन र जीवनदृष्टिसमेत हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।
एससीओको संवाद साझेदारका रूपमा नेपालले सभ्यतागत संवादबाट पारस्परिक विश्वास, समझदारी र जनस्तरको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्दै विविधता विभाजनको कारण नभई शक्तिको स्रोत बन्नुपर्ने धारणा राखेको छ ।
उनले विभिन्न सभ्यताका कला, साहित्य, दर्शन र बौद्धिक उपलब्धिहरू एकअर्कासँग भेटिँदा, सिक्दा र सहकार्य गर्दा मानव सभ्यता अझ समृद्ध हुने उल्लेख गर्दै नेपाल साझा सभ्यतागत उद्देश्यमा आफ्नो ऐतिहासिक अनुभव, सांस्कृतिक सम्पदा र ज्ञान परम्परासहित योगदान गर्न तत्पर रहेको बताए ।
