जनकपुर । आगामी मङ्सिर २३ गतेदेखि जनकपुरधाममा सुरु हुने साताव्यापी श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवको व्यवस्थापनका लागि विभिन्न समिति गठन गरिएको छ ।
महोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन जानकी मन्दिरले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रङ्गभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक, खानेपानी र विद्युत् व्यवस्थापनलगायतका विषयमा छुट्टाछुट्टै समिति गठन गरेको हो ।
महोत्सवको तयारीबारे बिहीबार मन्दिर परिसरमा आयोजित सर्वपक्षीय बैठकले समिति गठन गरी जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । यस वर्षको महोत्सवलाई विगतका वर्षभन्दा थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा सम्पन्न बैठकमा उत्तराधिकारी महन्थ दासले महोत्सव सफल बनाउन आवश्यक तयारी अघि बढाइएको बताए ।
उनले महोत्सवलाई व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका स्थानबाट हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, आवास, सुरक्षा र आवागमनलाई सहज बनाउने विषयलाई बैठकले प्राथमिकता दिएको छ ।
बैठकमा धार्मिक सङ्घसंस्था, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
