राष्ट्रपति भवनजस्तो संवेदनशील संरचनाको सुरक्षा गर्न नसकेको विषयमा सेनाले नै जवाफ दिनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति भवनजस्तो संवेदनशील संरचनाको सुरक्षा गर्न नसकेको विषयमा नेपाली सेनाले नै जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, आगजनी र तोडफोडका घटनालाई रहस्यमय भन्दै राज्यको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाए ।
उनले भने,‘राष्ट्रपति निवासको सुरक्षा नहुने ? भैरवनाथ गणमा राष्ट्रपति थुनेर सुरक्षा हुन्छ ?’राष्ट्रपति निवासको बाहिरी भाग जलाउन सकिने तर राष्ट्रपतिलाई भित्रै सुरक्षित राख्नुपर्ने भनिएको प्रसंग उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थामाथि असन्तुष्टि जनाए ।

उनले आन्दोलनका क्रममा २३ गते भएको मानवीय क्षतिको जिम्मेवार को हो भन्ने प्रश्नसमेत उठाए । ‘२३ गते त्यत्रा मान्छे कसले मार्यो ?’ भन्दै ओलीले त्यसपछिका घटनामा स्कुले विद्यार्थीलाई समेत प्रयोग गरेर आगजनी गराइएको आरोप लगाए ।

नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवामाथि घरमै पुगेर कुटपिट हुँदा पनि राज्यको उपस्थिति नदेखिनु लज्जास्पद भएको उनले बताए । आन्दोलनका क्रममा ऐतिहासिक तथा राष्ट्रिय सम्पदामा भएको आगजनी र क्षतिबारे पनि पर्याप्त छानबिन नभएको उनले बताए ।

ओलीले एमालेको पछिल्लो राजनीतिक धक्कालाई निर्वाचनमा प्राप्त परिणामसँग मात्रै जोडेर हेर्न नहुने जिकिर गरे । पार्टी सरकारबाट विस्थापित भएको घटनादेखि नै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्नुपर्ने उनको भनाइ थियो ।

‘हामी सरकारबाट अपदस्थ हुँदाको अवस्थाको विश्लेषण नगरी राजनीति हुँदैन,’ ओलीले भने, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापन गर्न बनाइएको वातावरण बुझ्नुपर्छ ।’

उनले एमालेको सरकार आन्तरिक कमजोरीका कारण मात्रै विस्थापित भएको व्याख्या अपूर्ण हुने दाबी गरे । सामाजिक सञ्जालको एल्गोरिदम प्रयोग गरेर आफूहरूप्रति घृणा फैलाइएको र सुरक्षा निकायलाई समेत अनावश्यक रूपमा संलग्न गराएर निर्वाचनमा एमालेलाई पराजित गरिएको उनको आरोप थियो ।

अध्यक्ष ओलीले एमालेविरुद्ध देखिएका नयाँ राजनीतिक प्रवृत्तिलाई ‘मौसमी छिचिमिरा’ को संज्ञा दिए । यस्ता प्रवृत्तिको प्रभाव लामो समय नटिक्ने टिप्पणी गर्दै उनले तिनका विरुद्ध संघर्ष गरेर एमालेले विजय हासिल गर्ने दाबी गरे । समाजमा फैलिएका भ्रम र निराशा हटाउँदै पुनर्जागरणको नेतृत्व एमालेले गर्ने पनि ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *