काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको बताएका छन्।
बिहीबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले केन्द्रीय कमिटीले निर्धारण तथा निर्देशित गरेको ‘दुई कार्यभार र पन्ध्र काम’को लक्ष्य हासिल गर्न तथा त्यसको तयारीमा जुट्न राष्ट्रिय भेला एउटा महत्त्वपूर्ण अङ्ग भएको बताएका हुन् ।
उनले पार्टीको राष्ट्रिय भेला नयाँ आधारमा नयाँ एकता र नयाँ सङ्कल्पको ठोस अभिव्यक्ति भएको बताउँदै भेलाप्रति आफ्नो दृढ ऐक्यबद्धता प्रकट गरे।
थापाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको तयारी गर्दा गत फागुन २१ गते सम्पन्न निर्वाचनबारे पार्टीले गरेको समीक्षालाई ध्यान दिनुपर्ने बताए । त्यसैको जगमा टेकेर चुनावको सही रणनीति तय गरिने उनको भनाइ थियो।
उनले केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पार्टीको पुनर्निर्माण गर्नुपर्ने, राष्ट्रियता तथा लोकतन्त्र पुनःस्थापनाका लागि राजनीतिक आन्दोलनको तयारी गर्नुपर्ने, लोकतन्त्रको विजयका लागि आगामी निर्वाचनको पूर्वतयारी गर्नुपर्ने, संविधान रक्षाका लागि कानुनी सङ्घर्ष गर्नुपर्ने तथा जनसम्बन्ध विस्तार र सुदृढीकरणका लागि जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने निर्णय गरेको जानकारी दिए ।
आगामी वर्ष निर्वाचन वर्ष भएकाले पालिका, प्रदेश र राष्ट्रिय सभाका निर्वाचन लोकतान्त्रिक शक्तिका लागि असामान्य परिस्थितिमा हुन लागेको उनले बताए । गत फागुनको निर्वाचनको पुनरावृत्ति हुन्छ वा त्यसमा क्रमभङ्ग हुन्छ भन्ने नै अहिलेको मुख्य राजनीतिक प्रश्न भएको उनको भनाइ थियो ।
विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्ति र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको भीषण सङ्घर्षका रूपमा रहेको उल्लेख गर्दै उपाध्यक्ष थापाले आगामी निर्वाचन पनि यिनै दुई पक्षबीचको शक्ति सङ्घर्ष हुने निश्चित रहेको बताए ।
‘फासीवादी तथा पपुलिस्ट शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न चाहन्छन् र बाह्य शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न कठपुतलीहरूलाई विजयी बनाउनैपर्ने अवस्था ठानेका छन् । त्यसैले आगामी निर्वाचनहरू सामान्य हुनेवाला छैनन्’, उनले भने ।
चीनका महान् रणनीतिकार सुन जुको प्रसिद्ध भनाइ ‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ’ लाई आत्मसात् गर्नुपर्ने धारणा राख्दै उनले निर्वाचनमा विजय प्राप्त गर्न आन्तरिक एकता सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
गत वर्षको निर्वाचनमा भएका आन्तरिक कमजोरीको चर्चा गर्दै उनले भने, ‘सङ्घर्षमा नीति, नेतृत्व र जनता नै विजयका मुख्य आधार हुन् । विगतको निर्वाचनमा हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ । आफ्ना कमजोरी बुझ्न सकेनौँ । मुख्य प्रतिद्वन्द्वीविरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ । आन्तरिक एकता कायम गर्न सकेनौँ । जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ ।’
उपाध्यक्ष थापाले विजय प्राप्तिका लागि जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुका साथै प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्न र नेतृत्वको वरिपरि गोलबन्द हुनुपर्नेमा जोड दिए । केन्द्रीय कमिटीले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरी सही निष्कर्ष निकालेको उल्लेख गर्दै उनले अब त्यसको दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।
‘अहिले भूराजनीतिक शक्तिहरूबीचको सङ्घर्ष तीव्र बन्दै गएको छ । लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढ्दै गएको छ । जनतामा व्याप्त एल्गोरिदमको भ्रम क्रमशः हट्दै गएको छ । सरकारप्रति जनताको आक्रोश चुलिँदै गएको छ । पछिल्ला घटनाक्रमले संसदीय, सडक तथा कानुनी सङ्घर्षमा विजयको सङ्केत दिइरहेका छन्’, उनले भने ।
