मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित प्रहरी चेकपोस्टमा कारको डिकीबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद भएको छ । प्रहरीले गाँजा बरामद गरे पनि कार चालक भने फरार भएका छन् ।
प्रहरीका अनुसार गएराति करिब १ः४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको बीएबी ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा रोकेको थियो ।
जाँचका क्रममा चालकले कारको डिकीमा केही नभएको बताएपछि प्रहरीलाई शङ्का लागेको थियो । त्यसपछि चालक फरार भएका थिए । प्रहरीले कारको डिकी खोलेर जाँच गर्दा साना–ठूला गरी गाँजाका नौ वटा पोका फेला पारेको थियो ।
बरामद गाँजा तौल गर्दा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको छ । बरामद कार र गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
