म्याग्दी प्रहरीले सञ्चालन गरेको ‘ब्राबोसेरा’ अभियानबाट १ सय ७२ थान अवैध भरुवा बन्दुक बरामद

म्याग्दी । वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले म्याग्दी प्रहरीले सञ्चालन गरेको ‘ब्राबोसेरा’ अभियानअन्तर्गत हालसम्म १ सय ७२ थान अवैध भरुवा बन्दुक बरामद भएका छन् ।

अभियानअन्तर्गत बुधबार मालिका गाउँपालिका–५ मगरदाङको घरथोकस्थित वन क्षेत्रमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद भएका हुन् । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खोजतलासका क्रममा ती हतियार फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । यसअघि गत आइतबार पनि सोही वडाको पन्थोकस्थित वन क्षेत्रबाट ५ थान भरुवा बन्दुक बरामद गरिएको थियो । पछिल्लो समय मालिका गाउँपालिकाका विभिन्न वन क्षेत्रबाट मात्रै १२ थान बन्दुक फेला परेका छन् ।

म्याग्दी प्रहरीले २०८२ मङ्सिर १५ गतेदेखि अवैध हातहतियार नियन्त्रण गर्न ‘ब्राबोसेरा’ अभियान सुरु गरेको थियो । ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना तथा सामुदायिक वनमा हुने चोरीसिकार नियन्त्रण र अवैध हतियारबाट हुन सक्ने आपराधिक घटना न्यूनीकरण गर्नु अभियानको मुख्य लक्ष्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।

प्रहरीले जिल्लाका ६ वटै स्थानीय तहका वनजङ्गल, गोठ, खोल्साखोल्सी, रूखका टोड्का, खाली घर तथा जमिनमुनि लुकाइएका अवस्थामा हतियार बरामद गर्दै आएको छ । प्रहरीको कारबाहीबाट बच्न चोरीसिकारीले वनजङ्गलमै बन्दुक छाडेर भाग्ने गरेको पाइएको छ ।

अभियानमा स्थानीयवासीको सूचना र जनप्रतिनिधिको समन्वय प्रभावकारी बनेको प्रहरीले जनाएको छ । सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने भएकाले अवैध हतियारबारे जानकारी दिन प्रहरी निरीक्षक तिमिल्सिनाले आग्रह गरेका छन् । प्रचलित कानुनअनुसार इजाजतबिना हातहतियार राख्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *