काठमाडौँ । बराह बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।
गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत विश्वकर्माको पक्राउबारे जानकारी दिँदै यसलाई पूर्वका बचतकर्ताले लामो समयदेखि भोग्दै आएको पीडालाई न्याय दिलाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
उनका अनुसार बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिना भएको छ । उक्त रकम हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सरकार सफल भएको उनको भनाइ छ ।
गृहमन्त्री गुरुङले करिब ६ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताले सुनाएको पीडा आफूले अझै नबिर्सिएको उल्लेख गरेका छन् ।
अभियन्ताका रूपमा रहँदा वा जेनजी आन्दोलनपछि पनि तत्काल केही गर्न नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि बचतकर्तालाई न्याय दिलाउन खोजी तथा अनुसन्धान तीव्र पारिएको उनले बताएका छन् ।
उनले सहकारी ठगीमा संलग्न अन्य दोषीहरूको खोजी र कानुनी कारबाहीको प्रक्रिया पनि क्रमशः तीव्र बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
