ओलीको निर्देशनः सरकारविरुद्ध आन्दोलनका लागि मानसिक र सङ्गठनात्मक रूपमा तयार रहनु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रतिशोधका आधारमा आफू वा पार्टीका नेता–कार्यकर्तालाई पक्राउ गर्न खोजे देशभरबाट लाखौँ कार्यकर्ता सडकमा उतार्ने चेतावनी दिएका छन्।

बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारविरुद्ध आन्दोलनका लागि पार्टीपङ्क्तिलाई मानसिक र सङ्गठनात्मक रूपमा तयार रहन निर्देशन दिएका हुन्। उनले सरकारको व्यवहार र गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अब दमन सहेर चुप बस्ने पार्टी नभएको बताए।

अध्यक्ष ओलीले यसअघि आफू पक्राउ पर्दा हजारौँ कार्यकर्ता सडकमा उत्रिएको स्मरण गर्दै आगामी दिनमा प्रतिशोध साँध्ने प्रयास भए हरेक ठाउँबाट लाखौँ कार्यकर्ता सडकमा आउने बताए ।

उनले आफ्नो गिरफ्तारीको विरुद्धमा कार्यकर्ता सडकमा उत्रिने कुरालाई सरकारले वैरभावकारुपमा हेरेको भन्दै आपत्ति जनाए । उनले अब पनि प्रतिशोध साँध्न खोज्यो त्यसको मूल्य महंगो पर्ने चेतावनी दिए । उनले भने, ‘आइन्दा हाम्रो कार्यकर्ता पङ्क्तिलाई त्यस ढङ्गको व्यवहार गर्न खोजियो भने त्यसको मूल्य धेरै महँगो पर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *