गुलरिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनिबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिफोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल आपसमा ठोक्किएका थिए । ठक्करपछि बस सडकमा पल्टिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार उनका बाबु दलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल, गुलरिया पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मिनिबसका चालकसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
