एनपीएल : लिग चरणको अन्तिम दुई खेलमा चितवन र कर्णाली तथा काठमाडौं र पोखरा भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणका अन्तिम दुई खेल आज हुँदैछन् । पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।

आजका खेल विशेषगरी काठमाडौं गोर्खाज र चितवन राइनोजका लागि महत्त्वपूर्ण रहनेछन् । प्लेअफमा स्थान सुरक्षित गरिसकेका यी दुवै टोली अब अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछन् । यता, प्लेअफ दौडबाट बाहिरिसकेका कर्णाली याक्स र पोखरा एभेन्जर्स भने जितका साथ प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छन् ।

हाल काठमाडौं गोर्खाज ६ खेलबाट ८ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा छ भने समान खेलबाट ७ अंक जोडेको चितवन राइनोज चौथो स्थानमा छ ।

काठमाडौंले पोखरालाई पराजित गर्न सके १० अंकसहित दोस्रो स्थानमा उक्लिँदै पहिलो क्वालिफायरमा स्थान बनाउनेछ । तर, काठमाडौं पराजित भएमा सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा यथावत रहनेछ । यस्तो अवस्थामा चितवनले कर्णालीविरुद्ध जित निकालेमा ९ अंकसहित तेस्रो स्थानमा उक्लिने अवसर पाउनेछ ।

यसर्थ, आजका दुवै खेलले प्लेअफमा पुगिसकेका टोलीको अन्तिम वरीयता र पहिलो क्वालिफायर तथा इलिमिनेटरको समीकरण निर्धारण गर्नेछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *