फुटबल एकेडेमी चलाउन सहाराको देउसीभैलो, साढे ११ लाख जुट्यो

कास्की । सहारा क्लब पोखराले यस वर्ष तिहारका अवसरमा खेलेको देउसीभैलोबाट रु ११ लाख ६८ हजार ६१३ जम्मा गरेको छ ।

विपन्न तथा कठिन परिस्थितिमा रहेका बालकहरूलाई आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान गर्ने उद्देश्यले क्लबले पोखरा–१७ दोबिल्लामा दुई दशकअघिदेखि ‘सूर्यबहादुर केसी स्मृति’ सहारा आवासीय फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समय एकेडेमी सञ्चालनका लागि आर्थिक अभाव भएपछि क्लबले देउसीभैलो खेलेर रकम जुटाएको हो । फुटबल एकेडेमीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुर्याउन क्लबले गत कात्तिक २२ देखि २६ गतेसम्म पाँच दिन देउसीभैलो कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष केशववहादुर थापाले बताए । उनका अनुसार नेपाली मौलिक कला, संस्कृति र परम्परालाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका थिए ।

सहाराले बर्सेनि पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिता गरेर सोबाट बचत भएको रकमले एकेडेमीमा खर्च गर्दै आएको थियो । गत वर्ष सम्पन्न २५औँ संकरणको फुटबल प्रतियोगितामा बचत रकम न्यून भएपछि क्लबले एकेडेमी चलाउने आर्थिक स्रोतको खोजीका क्रममा देउसी खेलेको हो ।

“हामीले फुटबल खेल विकासका लागि दुई दशकदेखि फुटबल एकेडेमी चलाएर देशका लागि आवश्यक सक्षम फुटबल खेलाडी उत्पादन गर्दै आएका छौँ । पछिल्लो समय एकेडेमी चलाउन आर्थिक रूपमा समस्या पर्दै गएपछि आम्दानीका अन्य स्रोतको खोजी गरिरहेका छौँ”, अध्यक्ष थापाले भने ।

क्लबका सहकोषाध्यक्ष विष्णु गुरुङको संयोजकत्वमा सञ्चालित कार्यक्रममा कलाकारहरूले पोखरा बजार क्षेत्रका विभिन्न स्थानमा मौलिक देउसीभैलो प्रस्तुत गरेका थिए । क्लबले देउसीभैलोबाट सङ्कलित रकम एकेडेमीमा आश्रित बालकहरूको आवास, भोजन, शिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण तथा दैनिक व्यवस्थापनमा खर्च गर्ने जनाएको छ । क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार सहारा एकेडेमीमा हाल विभिन्न जिल्लाका ३० बालक आश्रित छन् ।

विपन्न तथा कठिन परिस्थितिमा रहेका बालकहरूलाई निःशुल्क आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान गर्दै उनीहरूको भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले क्लबले एकेडेमी सञ्चालन गर्दै आएको छ । क्लबले देउसीभैलो कार्यक्रम सफल बनाउन समय, श्रम, कला, संस्कृति र सिर्जनामार्फत योगदान गर्ने कलाकार, सहयोगदाता तथा शुभेच्छुक सबैप्रति आभार व्यक्त गरेको छ ।

अध्यक्ष थापाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि एकेडेमीको मानवीय तथा सामाजिक अभियानमा निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्लबस्तरीय आमन्त्रित फुटबल प्रतियोगिताका माध्यमबाट फुटबल विकास गर्दै आएको सहाराले फुटबल एकेडेमीमार्फत प्रतिभावान् बालकहरूको क्षमता विकास गर्नुका साथै उनीहरूलाई शिक्षा र आवासको अवसर प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *