रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।
सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो ।
पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत गर्दथे । हाल उक्त बाटोमा मानिसको हिँड्डुल बन्द भए पनि पुरानो बाटोका डोबहरू अझै बाँकी रहेका स्थानीय बताउँछन् ।
स्थानीय शिक्षक रामग्याल्बो घलेका अनुसार परापूर्वकालमा भोट (तिब्बत) बाट नुन साट्न बेँसी झर्ने मुख्य मार्ग यही थियो ।
‘मैले थाहा पाउँदासम्म यही बाटो धेरै पटक हिँडेको छु । तत्कालीन राजा वीरेन्द्र पनि यही बाटो भएर हिँड्नुभएको थियो’, घलेले भने, ‘राजमार्ग बनेपछि पुरानो बाटो सुनसान भयो र गुफा पनि ओझेलमा पर्यो ।’
तामाङ भाषामा ‘साङतोरमो’ भनिने यस गुफाको नामाकरण बौद्ध भिक्षाँणी (आनी)सँग जोडिएको छ । स्थानीय जानकार घलेका अनुसार यो गुफा रामायणकी सीतासँग नभई बौद्ध (लामा)धर्मग्रन्थको अनुशरण गर्दै शान्तिको खोजीमा तपस्या गर्न आएकी आनी सीतासँग सम्बन्धित छ ।
‘परापूर्वकालमा गुरु रिम्पोछेका चेलीहरू डोल्मा, सोनाम र सीता गरी तीन जना भिक्षाणीले यस गुफामा बसेर ध्यान तथा तपस्या गरेको किंवदन्ती छ । ध्यानपछि गुफाको सिरानमा बसेर घाम ताप्ने र दर्शन गर्न आउने भक्तजनलाई आशीर्वाद दिने गरिन्थ्यो भन्ने यहाँका ज्येष्ठ नाथरिक बताउँछन्’, उनले भने।
गुफाभित्र ढलान गरेजस्तो चिल्लो ढुङ्गाको भित्तामा लामा लिपिमा लेखिएका अक्षरहरू अझै देख्न सकिन्ने घलेले जानकारी दिए । उनका अनुसार गुफा वरपर तत्कालीन समयमा भिक्षुणीहरूले प्रयोग गरेका ढिकी, हलो, ओदान, मान्द्रोलगायत सामग्रीहरू अझै सुरक्षित छन् ।
तामाङ समुदायको बसोबास रहेको बोकेझुण्डाको नामाकरणसँग राणाकालीन इतिहास जोडिएको छ । जङ्गबहादुर राणाको पालामा गोसाइँकुण्ड जाने क्रममा उनका सेनाले बाटोमा भेटिएको बाघलाई मारेर त्यहाँको करिब ५०० वर्ष पुरानो चाँपको रुखमा झुण्ड्याएका थिए । सुरुमा ‘बाघझुण्डा’ भनिए पनि पछि बोलिचालीको भाषामा अपभ्रंश हुँदै ‘बोकेझुण्डा’ रहन गएको स्थानीय बताउँछन् ।
उक्त ऐतिहासिक चाँपको रुख गत असार ६ गते आफैँ ढलेको घलेले जानकारी दिए । सोही स्थानमा काठमाडौँको हनुमानढोकाबाट १९ कोषको दूरीमा रहेको व्यहोरा उल्लेखित शिलालेख अझै जीवन्त छ । काठमाडौँबाट ११३ किलोमिटरको दूरीमा रहेको यस क्षेत्रमा २०७२ सालको भूकम्पले पुराना शैलीका घरहरू भत्काएपछि स्थानीय बासिन्दा राजमार्ग छेउछाउ बसाइँ सरेका छन् ।
स्थानीय सरकार गठन भएपछि गाउँको मौलिक संस्कृति, कृषि र ऐतिहासिक सम्पदाको संरक्षण हुने अपेक्षा गरिए पनि कसैले चासो नदिएको स्थानीय माछा पालक कृषक ल्वाङ ग्याल्बो घलेको गुनासो छ ।
“गाउँ(गाउँमा सिंहदरबार आयो भनिन्छ, तर यस्ता ऐतिहासिक धरोहरको संरक्षणमा कसैको ध्यान गएको छैन”, उनले भने ।
सरकारी निकायले बवास्ता गरेपछि स्थानीय शिक्षक राम घलेको नेतृत्वमा सात जना युवाको समूहले गुफाको सरसफाइ गर्ने, झाडी फाँड्ने र यसको महत्वलाई प्रचारप्रसार गरी भावी पुस्तासम्म जोगाइराख्ने योजना बनाएका छन् ।
धार्मिक आस्थाको केन्द्र छङगमदेवीभन्दा करिब डेढ किलोमिटर तल रहेको यस गुफालाई संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने स्थानीयको विश्वास छ ।
