मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन शनिबार बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् । उनले पद भन्दा ठूलो जनताको सेवा र विश्वास रहेकाले पदबाट राजीनामा दिएको बताए ।

सत्ता साझेदार दल नेकपा एमालेले असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएपछि एक महिनाभित्र सदनमा विश्वासको मत परीक्षण गर्नु पर्ने बाध्यता थियो । एमालेपछि कार्तिक २० गते नेपाली कम्युनिष्ट पार्टी(नेकपाका)ले पनि सरकारको साथ छाडेको थियो । त्यसपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा थियो ।

१०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न उनलाई कम्तीमा ५२ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा (एमाले)का २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि संविधानको धारा १६८ को २ बमोजिम दाबी पेश गर्न आह्वान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *