चितवनसँग पराजित हुँदै जनकपुर एनपीएलबाट बाहिरियो

काठमाडौं । जनकपुर बोल्ट्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) को लिगचरणबाटै बाहिरिएको छ । शुक्रबार राति सम्पन्न खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएसँगै जनकपुर लिगचरणबाटै बाहिरिएको हो । यता चितवनले भने जितसँगै प्लेअफ पुग्ने सम्भावनालाई जीवित राखेको छ ।

जितको लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.२ ओभरमा ६ विकेटको क्षतिमा ९२ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । चितवनको लागि डेविड मलानले सर्वाधिक नटआउट ३५ रन बनाए । उनले ३९ बलमा विजयी एक छक्का प्रहार गरे । यस्तै कुशल मल्लले १५, रवि बोपाराले १३ र कमिल मिश्राले १२ रन बनाए ।

जनकपुरको लागि राहुल यादवले ३ ओभरमा १९ रन दिएर ३ विकेट लिए । यस्तै ललित राजवंशीले दुई र विशाल शुस्लिङले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । जनकपुरको लागि कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाउँदा विशाल शुस्लिङले १५ र सन्तोष कार्कीले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

चितवनको लागि रञ्‍जित कुमारले तीन विकेट लिँदा सिकन्दर राजा र कमिल मिश्राले समान दुई/दुई विकेट लिए । कमल सिंह एरी र रिजन ढकालको नाममा एक/एक विकेट रह्यो ।

जितसँगै चिअत्वन ६ खेलबाट ७ अंक जोड्दै चौथो स्थानमा उक्लिदा सात खेलबाट ४ अंक जोडेको जनकपुर छैटौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *