काठमाडौं । काठमाडौँको गागलफेदीस्थित एक होमस्टेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुमार लामाले सञ्चालन गरेको कुशुम छ्याम्बा हाउस एन्ड होमस्टेमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
बुधबार बिहान करिब ५ बजे गोप्य सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले होमस्टेमा जाँच गर्दा उनीहरू कौडा खेलिरहेको अवस्थामा फेला परेका थिए ।
प्रहरीले उनीहरूको साथबाट नगद ५ लाख ७८ हजार ५५५ रुपैयाँ र १६ वटा कौडा बरामद गरेको जनाएको छ । पक्राउ परेका ३७ जनामाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।
