चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–४ त्रिचोकमा ३० वर्षीय सुमन राना मगरले फलामको रड प्रहार गर्दा उनकी ३२ वर्षीया श्रीमती सपना राना मगरको मृत्यु भएको हो ।

स्याङ्जाको चापाकोट गाउँपालिका–६ स्थायी घर भई हाल भरतपुरको त्रिचोकमा डेरा गरी बस्दै आएका उनीहरूबीच बुधबार बिहान घरायसी विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्रभूषण यादवका अनुसार घटना बुधबार बिहान करिब साढे ८ बजे भएको हो । रड प्रहारबाट गम्भीर घाइते भएकी सपनाको आफ्नै डेरामा मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले हत्या आरोपमा सुमनलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *