काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या र त्यसको समाधानका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा धारणा राखेका छन् ।
कोप–३१ सम्मेलनमा सहभागी हुन टर्कीको अन्ताल्या पुगेका मन्त्री खनालले सीएनएनसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई छुट्टाछुट्टै अन्तर्वार्ता दिएका हुन् ।
सीएनएनसँगको अन्तर्वार्तामा उनले नेपालमा हालै भएका जलवायुजन्य विपद्ले पुर्याएको विनाशकारी क्षति, प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका प्रयास र आवश्यक सहयोगबारे चर्चा गरेका थिए ।
उनले जलवायु विपद्बाट प्रभावित देशलाई अन्तर्राष्ट्रिय वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता, क्षति तथा नोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) बाट प्राप्त हुने वित्तीय सहायता र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रति प्रतिबद्ध रहनुपर्ने विषय उठाएका थिए ।
त्यसैगरी, बढ्दो तापक्रमले हिमाली पारिस्थितिक प्रणालीमा पारेको प्रभाव र नेपालको राष्ट्रिय अनुकूलन योजना (एनएपी) कार्यान्वयनका विषयमा पनि उनले धारणा राखेका थिए । मन्त्री खनालले अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालले सामना गरिरहेको जलवायु सङ्कट, त्यसबाट उत्पन्न मानवीय तथा आर्थिक क्षति र पुनःस्थापनाका लागि आवश्यक सहयोगमा केन्द्रित गराएका थिए।
