युरोप र अमेरिकामा आक्रमणको योजना बनाएको आरोपमा तीन इरानसमर्थित व्यक्तिविरुद्ध मुद्दा

बीबीसी । अमेरिकाले बेलायतस्थित अमेरिकी वायुसेना अखडा आरएएफ फेयरफोर्डमा भएको घटनासहित अमेरिका र युरोपका विभिन्न स्थानमा आतंकवादी आक्रमणको योजना बनाएको आरोपमा तीन इरानसमर्थित व्यक्तिविरुद्ध अभियोग दर्ता गरेको छ ।

अमेरिकी न्याय मन्त्रालय (डीओजे) ले मंगलबार सार्वजनिक गरेको आठवटा अभियोगमा इरानी नागरिक मोहसेन मोहाजेरी, इराकी नागरिक मोहम्मद अली अल–हसानी र दोहोरो इरानी–इराकी नागरिक मोहम्मद बाकेर साद दाउद अल–सादीलाई प्रतिवादी बनाइएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार उनीहरूले ‘हरकत असहाब अल–यामिन अल–इस्लामिया’ (हायी) नामक समूहका तर्फबाट युरोपमा आक्रमणको योजना बनाएका थिए । सन् २०२६ को वसन्तयाममा उक्त समूहले युरोपमा भएका १८ वटा आक्रमणको जिम्मेवारी लिएको थियो, जसमध्ये सातवटा बेलायतमा भएका थिए ।

ती आक्रमणमा आगजनी, विस्फोटक पदार्थको प्रयोग र लन्डनमा दुई यहुदी पुरुषमाथि गरिएको छुरा प्रहारसमेत रहेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

एफबीआई निर्देशक काश पटेलले अभियुक्तहरू इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) र इरानसमर्थित इराकी सशस्त्र समूह कताइब हिज्बुल्लाहको समर्थनमा करिब २० वटा आक्रमण प्रयासमा संलग्न रहेको आरोप लगाएका छन् ।

तीनमध्ये एक अभियुक्त न्यूयोर्कको जेलमा छन् । उनीमाथि जेलबाटै बेलायतस्थित सम्पर्क व्यक्तिहरूसँग कुराकानी गरी हिंसात्मक गतिविधिका लागि सांकेतिक सन्देश पठाएको आरोप छ । अन्य दुई अभियुक्तले इरानबाटै गतिविधि सञ्चालन गरेको अमेरिकी दाबी छ ।

गत सेप्टेम्बर २७ मा बेलायतको ग्लुसेस्टरशायरस्थित आरएएफ फेयरफोर्ड वायुसेना अखडा नजिकै तीनवटा शंकास्पद भ्यान देखिएपछि ठूलो सुरक्षा घटना घोषणा गरिएको थियो । भ्यानमा विस्फोटक पदार्थ फेला नपरे पनि पेट्रोल बरामद भएको थियो । घटनामा संलग्न आशंकामा बेलायतमा सात जना पक्राउ परेका छन् ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार अल–हसानीले गत अगस्टमा बेलायतस्थित सहयोगीहरूलाई उक्त वायुसेना अखडामा आक्रमणको तयारी गर्न निर्देशन दिएका थिए । उनले अगस्ट २२ मा एक व्यक्तिलाई अखडाको बाहिरी सुरक्षा क्षेत्रको निगरानी गर्न रकमसमेत दिएको आरोप छ । तर, इरानले आरएएफ फेयरफोर्ड घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *