बर्दियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–५ मोतीपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन् ।

दुर्घटनामा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारूको मृत्यु भएको हो । भारतको लखनउतर्फ उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १ बजे भे.५प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे.११प ८५६७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते हुनेमा बारबर्दिया नगरपालिका–३ बानियाभार निवासी २५ वर्षीय आशिष थारू, बाँसगढी नगरपालिका–७ निवासी १८ वर्षीय रमन थारू, भारतको लौकही निवासी १८ वर्षीय सहाबुद्दिन खान र सोही स्थानका २०÷२२ वर्षीय जमाल खान रहेका छन् ।

घाइतेमध्ये मोटरसाइकल चालक आशिष थारूको टाउकोमा चोट लागेको छ र उनको अवस्था गम्भीर छ । रमन थारूको टाउको र मुखमा सामान्य चोट लागेको थियो । कौशिल्या अस्पताल बाँसगढीमा उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ ।
त्यस्तै, सहाबुद्दिन खान र जमाल खानको टाउको तथा अनुहारमा चोट लागेको र दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *