काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । सोमबार दिउँसो भएको खेलमा कर्णाली याक्सलाई ६३ रनले हराउँदै पोखराले पहिलो जित दर्ता गरेको हो ।
जितको लागि २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा अलआउट हुँदै १ सय ५४ रनमात्र बनाउन सक्यो । कर्णालीको लागि पवन सरार्फले सर्वाधिक ३२ रन बनाउँदा अरिफुल इस्लामले २४, दिपक डुम्रेले २२ र कप्तान सोमपाल कामी;ए २१ रनको योगदान गरे ।
पोखराको लागि महेदी हसनले तीन विकेट लिँदा धनन्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा जितेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । एनपीएलमा यो दोस्रो ठुलो योगफल हो । पोखराको लागि युवराज सम्राले सतक र कुशल भुर्तेलले अर्धसतक बनाए । सम्राले ४८ बल खेल्दै १० चौका र ६ छक्काको मद्दतमा १ सय २ रन बनाए । जारी एनपीएलको यो पहिलो सतक हो । यस्तै कुशल भुर्तेलले ३९ बलमा ७ छक्काको मद्दतमा ६२ रन बनाउँदा चमिका करुनारात्नेले नटआउट ३५ रन जोडे ।
कर्णालीको लागि सोमपाल कामीले दुई विकेट लिँदा मार्क वाटले एक विकेट लिए ।
जितसँगै पोखरा ५ खेलबाट २ अंक जोड्दै अंकतालिकाको पुछारमा रहेको छ भने समान खेलबाट ४ अंक जोडेको कर्णाली छैटौँ स्थानमा रहेको छ ।
