काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ स्थित नयाँबस्ती युवा क्लबले ११८औँ देवकोटा जयन्ती तथा क्लबको ४०औँ वार्षिकोत्सवका अवसरमा दुई व्यक्तित्वलाई सम्मान गर्ने भएको छ ।
क्लबले यस वर्ष प्राध्यापक डा. वासुदेव त्रिपाठी र समाजसेवी एवं युवा सर्जक निर्मल अर्याललाई स्रष्टा सम्मान प्रदान गर्न लागेको क्लबका अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए । लक्ष्मीपूजाको अवसरमा आयोजना हुने कार्यक्रममा दुवैलाई सम्मान गरिनेछ ।
क्लबका सचिव रामचन्द्र दंगालका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं नेपाली समालोचना क्षेत्रका स्थापित व्यक्तित्व प्रा. डा. त्रिपाठीलाई ५१ हजार रुपैयाँ राशिसहित सम्मान गरिनेछ । यस्तै, समाजसेवी तथा युवा सर्जक अर्याललाई २५ हजार रुपैयाँ राशिसहित सम्मान गरिनेछ ।
समाजसेवा, साहित्य, खेलकुद तथा स्वास्थ्यलगायतका क्षेत्रमा लामो समयदेखि विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको नयाँबस्ती युवा क्लबले मुलुककै सक्रिय क्लबका रूपमा पहिचान बनाएको छ ।
