एनपीएलमा पोखराको लगातार चौथो हार

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ । शुक्रबार बेलुकी सम्पन्न खेलमा पोखरा चितवन राइनोजसँग ३० रनले पराजित भएको हो ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा अलआउट हुँदै १ सय २१ रनमात्र बनाउन सक्यो । पोखराको लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । उनले ४४ बल खेल्दै ३ चौका र १ छक्का हिर्काए । यस्तै युवराज सम्राले १९, किरण ठगुन्नाले १३ र अर्जुन घर्तीले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

चितवनको लागि रिजन ढकालले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । यस्तै कमल सिंह एरीले २ ओभरमा एक मेडन राख्दै ७ रन दिएर तीन विकेट लिँदा डान मोउसले, मौसम ढकाल र कुशल मल्लले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । चितवनको लागि कप्तान सिकन्दर राजाले १६ बलमा ४ छक्का र २ चौकाको मद्दतमा सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५, अर्जुन साउदले ३१, डेविड मलानले २८ र कुशल मल्लले ११ रन बनाए ।

पोखराको लागि चमिका करुनारात्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिए ।

जितसँगै चितवन ४ खेलबाट ५ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट  अंकविहीन पोखरा पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *