विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपालले पहिलो खेल इटालीसँग खेल्ने

काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट २०२७ को खेलतालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल इटालीसँग खेल्ने भएको छ ।

नेपालले डिसेम्बर ४ मा इटालीसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आयोजना हुनेछ । आयोजक नेपालसहित आठ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई राउन्ड रोबिन प्रणालीमा खेलाइनेछ । प्रतियोगिताको शीर्ष चार टोलीले आईसीसी क्रिकेट विश्वकप क्वालिफायर २०२७ मा स्थान बनाउनेछन् ।

नेपालको सबै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताका अन्य खेल भने टियुसँगै मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा पनि खेलाइनेछ ।

प्रतियोगितामा नेपालसँगै क्यानडा, कुवेत, जर्सी, संयुक्त अरब इमिरेट्स (यूएई), इटाली, नामिबिया र युगान्डाले सहभागिता जनाउनेछन् ।

यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले विश्वकप छनोटमा स्थान सुरक्षित गरिसकेका छन् । अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले हालै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष चारमा रहँदै सोझै छनोट भएका हुन् ।

नेपालले डिसेम्बर ४ मा इटालीसँग खेलेपछि डिसेम्बर ६ मा युगान्डाको सामना गर्नेछ । त्यसपछि डिसेम्बर १० मा यूएई, डिसेम्बर १२ मा जर्सी, डिसेम्बर १४ मा क्यानडा त डिसेम्बर १८ मा नामिबियासँग भिड्नेछ । नेपालले डिसेम्बर २१ मा कुवेतसँग खेल्दै प्रतियोगिताको अन्त्य गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *