काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग विगतका सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत कार्कीले डा. केसीले उठाएका माग र चिकित्सा क्षेत्र सुधारका लागि भएका आन्दोलनमा आफूहरू पनि सँगै रहेको स्मरण गराएकी छन् ।
उनले विगतमा माइतीघरदेखि बानेश्वरसम्म भएका प्रदर्शनमा ‘ओली, देउवा, प्रचण्ड तिम्रो माफिया मोहले देश हुन्न प्रसन्न’, ‘एक, दुई, तीन, चार, बन्द गर भ्रष्टाचार’ र ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा. केसीको साथमा’ जस्ता नारा घन्किएको उल्लेख गरेकी छन् ।
डा. केसीलाई ‘पागल’ भन्नेहरूलाई जवाफ दिँदै आफूहरूले पनि निधारमा ‘म पनि पागल हुँ’ लेखिएको फेटा बाँधेर आन्दोलनमा साथ दिएको प्रसंग उनले स्मरण गरेकी छन् ।
कार्कीले विगतका सरकारहरूले डा. केसीसँग गरेका सम्झौता र वर्तमान सरकारले समेत गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने जिम्मेवारी अब आफ्नै सरकारको भएको बताएकी छन् ।’ डा. केसी एक्लै लडेका होइनन्, तपाईँ हामी सँगै लडेका थियौँ। अब ती मुद्दाहरूलाई मुकाममा पुर्याउने दायित्व बहन गरौँ,’ उनले लेखेकी छन् ।
डा. केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई थप कष्ट नदिन र तत्काल वार्ता गर्न पनि कार्कीले सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले डा. केसीसँग आजै वार्ता गरी उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेकी छन् ।
