ओमान । ओमानको तटनजिक व्यावसायिक जहाजमाथि सोमबार भएको हवाई आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतका केन्द्रीय जलमार्गमन्त्री सर्वानन्द सोनोवालका अनुसार ‘एमएसभी अल जुुसुफी’ नामक जहाजमा १४ जना भारतीय नाविक सवार थिए ।
आक्रमणपछि ओमानको तटरक्षक बलले १३ जनालाई सकुशल उद्धार गरेको थियो । गुजरातका निवासी नाविक गान्धार नहिम अजिजको भने चोटका कारण मृत्यु भएको हो । मन्त्री सोनोवालले सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालय र ओमानस्थित भारतीय दूतावासले स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जानकारी दिएका छन् ।
उद्धार गरिएका १३ जना नाविकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने र उनीहरूलाई चाँडै भारत फर्काउने प्रक्रिया अघि बढाइएको उनले बताएका छन् । मृतक नाविकको शव स्वदेश ल्याउने तयारीसमेत भइरहेको छ ।
यसैबीच, भारतको विदेश मन्त्रालयले पनि व्यावसायिक जहाजमाथि भएको आक्रमणको निन्दा गरेको छ । मन्त्रालयले ओमानस्थित भारतीय दूतावासले घटनाबारे निगरानी गरिरहेको र ओमानी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ ।
क्षेत्रमा व्यावसायिक जहाजमाथि भइरहेका निरन्तरका आक्रमणलाई भारतले चिन्ताजनक भनेको छ । मन्त्रालयले क्षेत्रीय तनाव कम गर्न र शान्ति तथा स्थायित्व कायम गर्न कूटनीतिक माध्यमबाट भइरहेको वार्ता निष्कर्षमा पुर्याउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
