काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज ६ सदस्यीय प्रतिनिधिमण्डलसहित सोमबार नेपाल आइपुगेका छन् ।
सभामुख डीपी अर्यालको निमन्त्रणामा उनी सोमबार बिहान १०ः१५ बजे कतार एयरवेजको उडानमार्फत काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले स्वागत गरेकी थिइन् ।
नेपाल भ्रमणका क्रममा अध्यक्ष पेजले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
स्विस प्रतिनिधिमण्डलको यो भ्रमणले नेपाल र स्विट्जरल्यान्डबीचको संसदीय सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
