पत्रकार रिहा हुँदैमा घटना सकिँदैन, सरकारले जवाफ दिनुपर्छः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा सरकारसँग जवाफ मागेका छन्।

सामाजिक संजालमार्फत शर्माले पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना समाप्त नहुने भन्दै पक्राउ गर्ने निर्देशन कसले दिएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय सार्वजनिक हुनुपर्ने बताएका हुन्।

उनले केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतंक सिर्जना गर्ने घटनामा संलग्न व्यक्तिको पहिचान गरी सरकारले सार्वजनिक गर्न नचाहेको आरोपसमेत लगाए। अहिले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्दा प्रधानमन्त्री कार्यालयले आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएकोप्रति पनि उनले प्रश्न उठाएका छन्।

‘प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन, प्रश्न मुलुकको चौथो अंगमाथि यस्ता हरकत हुँदा सरकार सरकारका रूपमा देखिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो,’ शर्माले भनेका छन्।

सत्तारूढ दलले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको भन्दै समयमै प्रतिक्रिया दिएकोलाई उनले सकारात्मक मानेका छन्। तर, गैरकानुनी गतिविधि निरन्तर घटना नभई प्रवृत्ति बन्दै गएको भन्दै उनले सरकारको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्।

उनले सत्तारूढ दलको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रताको प्रतिबद्धता सरकारले समर्थन मात्रै गर्ने हो कि त्यसको रक्षा पनि गर्ने हो भन्ने प्रश्नसमेत गरेका छन्।

स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको उल्लेख गर्दै शर्माले गलत तथा भ्रमपूर्ण समाचारको खण्डन, नियन्त्रण र आवश्यक कारबाहीका लागि निश्चित कानुनी विधि रहेको बताएका छन्। ती विधिको पालना गर्न आग्रह गर्दै उनले संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गैरकानुनी गतिविधि बन्द गर्न र पत्रकार पक्राउको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *