सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
शुक्रबार साँझ करिब ६ः३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ गइरहेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका २ बस्ने वर्ष ४२ की कृष्णी बस्नेत, वर्ष ४५ की सीता विक र वर्ष ४३ को साउने रोका रहेका छन् ।
त्यसैगरी घाइते हुनेमा सल्यानको सल्यान, सिद्ध कुमाख गाउँपालिका–२ बस्ने वर्ष २४ को देवबहादुर विक, वर्ष ५८ की सुशीला चलाउने, वर्ष १३ की राधिका चलाउने र वर्ष २२ को दीपक रोका रहेका छन् ।
त्यस्तै, सिद्ध कुमाख गाउँपालिका–३ बस्ने वर्ष १५ को कमल बुढाथोकी र वर्ष ७ की विमला बुढाथोकी भन्ने रुपा बुढाथोकी तथा सिद्ध कुमाख गाउँपालिका–२ बस्ने वर्ष १० को युवराज परियार रहेका छन्।
घाइतेहरूमध्ये देवबहादुर विक, कमल बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ । घाइतेहरूमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगन्ज रिफर गरिएको छ । जिप चालक जिल्ला सल्यान, सिद्ध कुमाख गाउँपालिका २ बस्ने वर्ष ३८ को तिलक चलाउनेलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यान पठाइएको छ ।
