चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आजदेखि भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।

कोसी र वाग्मती प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ । मधेस प्रदेशसहित कोसी र वाग्मती प्रदेशका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।

रातिको समयमा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा बादल लाग्नेछ । अन्य क्षेत्रमा साधारणतया बदली रहनेछ ।

राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

चक्रवातको प्रभाव शनिबारसम्म रहने
पश्चिममध्य बंगालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । विभागका अनुसार जमिनमा प्रवेश गरेपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको चक्रवात क्रमशः कमजोर हुँदै आज बिहानसम्म ‘डीप डिप्रेसन’मा परिणत हुने सम्भावना छ ।

चक्रवातको प्रभावका कारण बुधबारदेखि नै नेपालको वायुमण्डलमा बादल देखिएको छ । आजदेखि यसको प्रभाव थप देखिने सम्भावना रहेको विभागले जनाएको छ ।

यसअघि नै विभागले आजदेखि शनिबारसम्म कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेको थियो ।

कृषि कार्य र हिमाली यात्रामा सतर्कता अपनाउन आग्रह
सम्भावित वर्षाका कारण कृषि क्षेत्रमा असर पर्न सक्ने भन्दै विभागले शनिबारसम्म धानबाली भित्र्याउनेलगायतका कृषि कार्य नगर्न आग्रह गरेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । पर्यटकलाई उच्च हिमाली क्षेत्रमा भ्रमण नगर्न तथा त्यहाँ पुगिसकेकालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

वर्षाका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त स्थान र सडक आसपास पहिरो जान सक्ने सम्भावना पनि रहेको छ । यसले सडक तथा हवाई यातायात र दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न र सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *