एनपीएलमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । बुधबार बेलुकी सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ४८ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्र सिंह एरीले अर्धसतक बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतमा नटआउट ५१ रन बनाए । यस्तै इशान पाण्डेले ३७, ब्राण्डन म्याकमुलेंले २२, सैफ जैबले १५, शेरफान रथरफोर्डले नटआउट ८ र विनोद भण्डारीले ४ रन बनाए ।

पोखराको लागि धनन्जय लक्षण, महेदी हसन र शकिब अल हसनले सामन एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । पोखराको लागि अर्जुन घर्तिले सर्वाधिक ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे । यस्तै महेदी हसनले ३२, कप्तान कुशल भुर्तेलले २१, शकिब अल हसनले १४ र धनन्जय लक्षणले ११ रनको योगदान गरे ।

सुदूरपश्चिमको लागि अनिल खरेलले ३ ओभरमा २३ रन दिएर ३ विकेट लिए । यस्तै हेमन्त धामी, स्कट कुगेलेइन र दीपेन्द्र सिंह एरीले समान एक/एक विकेट लिए ।

जितसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *