महाधिवेशनमा नेताहरूको भेटघाट र समर्थन जुटाउनु स्वाभाविक

जनकराज पाठक ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई नेपालको कुनै पनि भागमा आवतजावत गर्न र बसोबास गर्न पाउने स्वतन्त्रता सुनिश्चित गरेको छ। राजनीतिक दलका नेता पनि यही संवैधानिक अधिकारबाट निर्देशित हुन्छन् । त्यसैले कुनै राजनीतिक दलको महाधिवेशनमा अध्यक्षका आकांक्षी, अन्य पदका उम्मेदवार वा वरिष्ठ नेताहरूले देशका विभिन्न जिल्ला पुगेर पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्नु, विचार राख्नु, आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु र समर्थन माग्नु स्वाभाविक लोकतान्त्रिक अभ्यास हो ।

महाधिवेशनमा प्रतिस्पर्धा गर्ने नेताले देशभरि घुमेर आफ्नो पक्षमा माहोल बनाउनु अपराध होइन, राजनीतिक प्रतिस्पर्धाको स्वाभाविक प्रक्रिया हो। लोकतन्त्रमा आफ्नो विचार राख्ने अधिकार जति हुन्छ, त्यति नै अरूको विचार सुन्ने र स्वीकार गर्ने उदारता पनि हुनुपर्छ।

अध्यक्षका प्रतिस्पर्धीहरू जिल्ला–जिल्लामा पुगेर प्रतिनिधि तथा कार्यकर्तासँग छलफल गरिरहेका छन् भने त्यसलाई लिएर अनावश्यक आलोचना गर्नु, आशंका फैलाउनु वा कोकोहोलो मच्चाउनुको कुनै औचित्य छैन । सबै प्रतिस्पर्धीलाई समान अवसर, सहज वातावरण र निष्पक्ष व्यवहार सुनिश्चित गर्न सक्यो भने त्यो वास्तविक लोकतान्त्रिक संस्कारको उदाहरण हुनेछ ।

यसो भनिरहदा पार्टीको विधान, महाधिवेशनसम्बन्धी आचारसंहिता र प्रचलित नियमले निषेध गरेका गतिविधि गर्न कसैलाई छुट हुँदैन। तर विधानले प्रतिबन्ध नलगाएका वैधानिक भेटघाट, छलफल, विचार अभिव्यक्ति र समर्थन जुटाउने गतिविधिलाई अनुचित ठहर गर्न मिल्दैन।

पार्टीभित्रका नेताहरूको राजनीतिक यात्रा, योगदान, क्षमता, कमजोरी र कार्यशैलीबारे कार्यकर्ताहरू अनभिज्ञ छैनन्। कार्यकर्ताहरूले सबैलाई चिनेका छन्, सबैको तागत र सीमाबारे बुझेका छन्। अन्ततः कसलाई नेतृत्वमा पु¥याउने भन्ने निर्णय विधानबमोजिम हुने महाधिवेशनको लोकतान्त्रिक प्रक्रियाले गर्नेछ।कसैलाई रोक्ने, कसैलाई निषेध गर्ने वा आफ्नो अनुकूल वातावरण मात्र खोज्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउँदैन।

साथीहरू,
आखिर समस्या के हो ? कोही नेता कार्यकर्तासँग भेटघाट गर्दैमा आकाश खस्छ र ? कसैले आफ्नो पक्षमा माहोल बनाउँदैमा पार्टी नै संकटमा पर्छ र ? यदि आफ्नो विचार, संगठन, योगदान र नेतृत्व क्षमतामाथि विश्वास छ भने अरूको सक्रियतासँग डराउनुपर्ने कारण के छ ? प्रतिस्पर्धासँग डराउने होइन, प्रतिस्पर्धामा उत्रिने साहस गर्नुपर्छ। आलोचनाबाट आत्तिने होइन, आफ्नो काम र विचारबाट जवाफ दिनुपर्छ।

अन्त्यमा, मेरो स्पष्ट प्रश्न छ,

साथीहरू, किन यति धेरै रोदन, किन यति धेरै चिच्याहट, किन यति धेरै विलाप ? भएको के हो आखिर ? लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धामा मतभेद हुन्छ, मतभेदबीच नै नेतृत्व छानिन्छ। यो सामान्य राजनीतिक प्रक्रिया हो। यसलाई असामान्य ठानेर आत्तिनुपर्ने कुनै कारण छैन । साँच्चै लोकतन्त्रमा विश्वास गर्ने हो भने प्रतिस्पर्धीलाई निषेध होइन, समान अवसर दिऔँ। गुटको स्वार्थभन्दा पार्टीको हितलाई माथि राखौँ। र महाधिवेशनलाई निष्पक्ष, मर्यादित तथा लोकतान्त्रिक अभ्यासको नमुना बनाऔँ । किनकी पार्टी कुनै व्यक्ति वा गुटको निजी सम्पत्ति होइन, चेतना भया !

(पाठक राप्रपाका नेता हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *