लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङलाई नेपाल बौद्ध महासंघको बधाई

काठमाडौं । नेपाल बौद्ध महासंघले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष नुर्बु थुन्डुप शेर्पा (गोशे थुगेन जिन्पा)ले जारी गरेको शुभकामना सन्देशमार्फत आनी छोइङ डोल्मालाई उपाध्यक्षमा नियुक्त गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

महासंघले लुम्बिनीलाई सम्पूर्ण बौद्धमार्गीको आस्थाको केन्द्र तथा भगवान् गौतम बुद्धको पवित्र जन्मभूमिका रूपमा उल्लेख गर्दै यसको संरक्षण, संवर्द्धन र विकासका लागि आनी छोइङ डोल्माको नियुक्ति महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।

नव नियुक्त उपाध्यक्षको दूरदृष्टि, समर्पण र उच्च प्रतिबद्धताले लुम्बिनीको अमूल्य बौद्ध सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्न सहयोग पुग्ने महासंघको विश्वास छ । साथै, लुम्बिनीको विश्वव्यापी महत्व अझ सुदृढ बनाउँदै यसलाई विश्वशान्ति, आध्यात्मिक अध्ययन तथा अन्तर्राष्ट्रिय सद्भावको केन्द्रका रूपमा अघि बढाउन उनको योगदान महत्वपूर्ण हुने महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *