-नारायण गाउँले ।
दिल्लीको विरोधमा निर्भर राष्ट्रवादको समय सकियो भन्ने सुनाउन डा. स्वर्णिम वाग्ले भारत गएका होइनन् । एउटा गैरसरकारी प्लेटफर्ममा प्रसङ्गवश दिइएको स्वःस्फूर्त अभिव्यक्ति हो त्यो । उनी मन्त्री त हुन् तर उनले त्यहाँ सरकारी धारणा नभएर आफ्नो जेनेरेशनको आमधारणा प्रस्तुत गरेका हुन् । उनी व्यक्तिगत क्षमता, सान्दर्भिकता र विज्ञताका आधारमा निम्त्याइएका अतिथि थिए । उनको धारणा पनि व्यक्तिगत नै हो ।
‘नेपाली राष्ट्रवाद कुनै पनि राष्ट्रको विरोधमा उभिएको थिएन, छैन र उभिने छैन’ भन्ने उत्तर दिएको भए पक्कै सुन्दर हुन्थ्यो । अलि बढी परम्परागत कूटनीतिको पालना हुन्थ्यो । तर केही ओपनसिक्रेट विषयमा कसैले प्रश्न गर्दा स्वःस्फूर्त आउने यत्तिको खुला अभिव्यक्तिलाई राष्ट्रिय बहस बनाई राख्नु पनि जरूरी देखिन्न । यस्ता संवेदनशील मानिने विषयमा उनको अभिव्यक्ति विवादास्पद बन्नु र आलोचना हुनु स्वाभाविक हो तर ठूलो राष्ट्रघात या अपराध नै भएजस्तो प्रचार पनि निरर्थक हो ।
स्वर्णिम वाग्ले मन्त्री बन्नुअघि नेपालमा भारतविरुद्ध सुरूङ युद्ध गर्ने भनेर सत्तामा आएका दल र नेताहरूकै बिगबिगी थियो । भारतीय विस्तारवाद भन्दै नारा लगाएर विद्यार्थी राजनीति सिकेको पुस्ता थियो । सीमामा काँढे तार लगाउनुपर्ने माग त संसदमै उठेको थियो । भारतलाई र त्यो कार्यक्रम सञ्चालक दुबैलाई थाहा भएकै विषय हो यो । के स्थिति अहिले पनि यस्तै छ भन्ने खालको प्रश्नमा त्यस्तो समय सकियो भन्ने उत्तर कत्ति पनि अराष्ट्रिय छैन ।
उनले आफूलाई देशको उत्तराधिकारी भएको बोध गर्दै पहिले पनि यस्तो भावना थिएन भनेर बचाउ गरेको भए अझ राम्रो हुन्थ्यो । सरकारी मञ्च थिएन, यसो नाकाबन्दीलाई छोएर दुबै देश त्यो युगबाट बाहिर आउनु पर्छ भन्न सकेको भए गजप हुन्थ्यो । तर यी उत्तर धेरै सोचेपछि हाम्रो दिमागमा आउने हुन् । तत्काल बोल्दाको स्थिति फरक हुन्छ ।
हाम्रो राष्ट्रवाद भारतविरोधी नभएको भए फास्ट ट्रयाकक बनिसकेको हुन्थ्यो । यातायात र पूर्वाधार विकासका निम्ति दुई खर्बको सफ्टलोन सँगै बुट मोडलमा बन्ने तय भएको त्यो सडक राष्ट्रवादकै कारण तुहिएर अहिलेसम्म अलपत्र छ ।
छिमेकी फेर्न सकिन्न । सामदामदण्डभेद उहिल्यैदेखि कूटनीतिका अङ्ग हुन् । दुई देशबीच समस्या छन्, नसुल्झिएका विवाद छन् तर तिनलाई मात्रै फ्रन्टमा राखेर पनि अगाडि बढ्न सकिन्न । यस्ता अनौपचारिक मञ्चमा द्विपक्षीय सम्बन्ध सुधारका निम्ति प्रसंशा गर्नुलाई चाकरी भन्ने युग पनि गए भन्ने बुझ्न पर्छ । अझ बाहिर बाहिर विरोध गर्ने र कोठाभित्र लम्पसार पर्ने कामभन्दा खुला रूपमा गरिने प्रसंशाले केही बिगार्दैन । ट्रम्पदेखि पुटिन र मोदीसम्मले यस्तो प्रयोग गर्दै आएका छन् ।
अँ, अति नै धेरै विरोध गर्नेहरू ती रहेछन् जसले युक्रेनलाई रसियासँग मिलेर बस्न पर्ने र आफ्नो जमिन कब्जा गरे पनि खुसीसाथ सुम्पिनुपर्ने सुझाव दिएका रहेछन् । खै के खै के ! यतिबेला कूटनीतिदेखि राज्यसत्ता सञ्चालनसम्म खारिएको र अनुभवी सरकार छैन । सबैभन्दा छिप्पिएको त वाग्ले नै होलान् । यस्तोमा विश्वविद्यालयमा पढाइने खालको शास्त्रीय कूटनीतिको अपेक्षा गर्न सकिन्न । अरूले पनि गर्दैनन् । तर देशको व्यक्तित्व, मर्यादा र भूराजनीतिको संवेदनशीलतालाई पनि राजनीति गर्नेले बुझ्न जरुरी छ । अन्त्यमा आफ्नो अभिव्यक्ति विवादित बनेपछि र धेरैले चित्त दुखाएपछि नम्रतापूर्वक आफ्नो आशय प्रष्ट गर्दै विरोधलाई सम्बोधन गर्ने सुझाव वाग्लेजीलाई दिन चाहन्छु ।
