काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि देशभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले सोमबार चेतावनी जारी गरी चक्रवातको प्रभावले कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा मौसम प्रभावित हुने सम्भावना रहेको जनाएको हो । कात्तिक १३ र १४ गते विशेषगरी कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा यसको प्रभाव बढी पर्ने अनुमान गरिएको छ ।
ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको भन्दै प्राधिकरणले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार चक्रवात कात्तिक ११ गते भारतको भूभागमा प्रवेश गर्ने सम्भावना छ । मौसमको हालसम्मको विश्लेषणका आधारमा यसको प्रभाव नेपालमा देखिन सक्ने भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
प्राधिकरणले किसानलाई धान काट्ने र भित्र्याउनेलगायत कृषि कार्य कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटकलाई नजान र गइसकेका पर्यटकलाई जोखिमको अवधिभर सुरक्षित स्थानमा रहन पनि सुझाव दिएको छ ।
मौसम प्रतिकूल हुँदा सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्राधिकरणले अनुरोध गरेको छ । आवश्यक परे सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था मिलाउनसमेत सम्बन्धित निकायलाई भनिएको छ ।
संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई जोखिमबारे सर्वसाधारणलाई सुसूचित गराउन तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ ।
जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि निर्देशन दिइएको छ ।
प्राधिकरणले मौसमसम्बन्धी अद्यावधिक सूचना तथा चेतावनी पालना गर्न आग्रह गर्दै मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, १०० वा १११४ मा सम्पर्क गर्न अनुरोध गरेको छ
