एनपीएलमा साविक विजेता लुम्बिनीको विजयी शुरुवात

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ । सोमबार बेलुकी भएको खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराउँदै लुम्बिनीले प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।

जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ९.५ ओभरमा तीन विकेटको क्षतिमा ८८ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । लुम्बिनीलाई जित दिलाउन डार्सी शर्टले १० बलमा विस्फोटक ब्याटिङ गर्दै ४ चौका र ३ छक्काको मद्दतमा ४० रन बनाए । यस्तै आसिफ शेखले २५ बलमा ३२ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे ।

सुदूरपश्चिमको लागि अनिल खरेलले २ ओभरमा ९ रन दिएर दुई विकेट लिँदा दीपेन्द्र सिंह एरीले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्र सिंह एरीले २३ बलमा २ चौकाको मद्दतमा सर्वाधिक २७ रन बनाए । यस्तै अनिल खरेलले १५ र  ओपनर सैफ जैबले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न किशोर महतोले ४ ओभरमा २८ रन दिएर चार विकेट लिए । यस्तै शेर मल्लले ४ ओभरमा ११  रन दिएर तीन विकेट लिँदा रोहित पौडेल, श्याडली भान शाल्कविक र तिलक भण्डारीले समान एक/एक विकेट लिए ।

जितसँगै लुम्बिनीले दुई अंक जोडेको छ ।

अब भोलि हुने खेलमा विराटनगर किंग्स र चितवन राइनोज तथा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *