काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सात महिना बितिसक्दा पनि आम नागरिकको दैनिक जीवनमा परिणाममुखी परिवर्तन आउन नसकेको टिप्पणी गरेका छन्।
दसैँको समापन तथा दीपावली र छठ पर्वको पूर्वसन्ध्यामा आफ्नो धारणा सार्वजनिक गर्दै केसीले महँगी, बेथिति र राजनीतिक उदासीनताका कारण नागरिकले चाडपर्वको उल्लासभन्दा निराशा अनुभव गरिरहेको बताएका हुन्।
उनले सरकारप्रति जनतामा बढ्दै गएको निराशा कुनै पनि बेला आक्रोशमा परिणत हुन सक्ने चेतावनी दिँदै सत्तारूढ पक्षले जनभावनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्वमा समेत सरकारले बजार नियन्त्रण गर्न नसकेको उनको आरोप छ । नाममात्रको बजार अनुगमन, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धिका कारण मध्यमवर्गीय तथा विपन्न परिवारको चाडपर्व प्रभावित भएको उनले उल्लेख गरेका छन्।
जेनजी आन्दोलनको भावना र निर्वाचनबाट प्राप्त बहुमतअनुसार राज्य सञ्चालनको शैली परिवर्तन हुनुपर्नेमा पुरानै राजनीतिक प्रवृत्ति, पूर्वाग्रह र संस्कारले निरन्तरता पाएको केसीको भनाइ छ। नेतृत्व परिवर्तन भएपनि कार्यशैलीमा सुधार नदेखिनुले जनआकाङ्क्षामा गम्भीर चोट पुगेको उनले बताएका छन्।
सरकारले जनगुनासो र जायज प्रश्नलाई बेवास्ता गरेको आरोप लगाउँदै केसीले विगतको आलोचना र आत्मप्रशंसामा रमाएर सरकार आफ्नो जिम्मेवारीबाट उम्कन नसक्ने बताएका छन्। जनताका प्रश्नप्रति जवाफदेही नहुँदा राज्यप्रतिको नागरिकको भरोसा घट्दै गएको उनको टिप्पणी छ।
उनले बदलिँदो विश्वव्यवस्था, संवेदनशील भूराजनीतिक अवस्था र चुनौतीपूर्ण आर्थिक परिस्थितिलाई सम्बोधन गर्न सरकारसँग स्पष्ट दूरदृष्टि तथा रणनीतिको अभाव देखिएको पनि बताएका छन्।
केसीले उपभोक्तालाई राहत हुने गरी बजार अनुगमन प्रभावकारी बनाउन, अस्वाभाविक मूल्यवृद्धि, सिन्डिकेट र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। साथै, राजनीतिक नियुक्ति तथा प्रशासनिक सरुवा–बढुवामा देखिएको मनपरी अन्त्य गरी योग्यता, क्षमता र पारदर्शितामा आधारित प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिएका छन्।
युवा पलायन रोक्न शिक्षा, रोजगारी, सुशासन र न्यायको प्रत्याभूतिसहित ठोस आर्थिक तथा सामाजिक कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ। विदेशिएका युवालाई स्वदेश फर्काउने सरकारी प्रतिबद्धता नारामा मात्र सीमित रहेको उनले टिप्पणी गरेका छन्।
सरकारले भाषण र आत्मप्रशंसाभन्दा जनताका जायज प्रश्नको पारदर्शी जवाफ दिनुपर्ने उल्लेख गर्दै केसीले असन्तुष्टि र निराशालाई सकारात्मक रूपान्तरण गर्न तथा राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न सरकारलाई गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन्।
