सप्तकोसीमा मोटरबोट दुर्घटना अपडेटः तीन जनाको मृत्यु, चार बेपत्ता, ९ जनाको सकुशल उद्धार

काठमाडौँ । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका नौ जना भने सकुशल बाहिर निस्किएका छन्।

सशस्त्र प्रहरी बल नेपालका अनुसार आइतबार भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट भोजपुर, उदयपुर र धनकुटाको संगमस्थल त्रिवेणीमा दुर्घटनामा परेको हो । मोटरबोटको स्टार्ट बन्द भएपछि दुर्घटना भएको जनाइएको छ।

मोटरबोटमा १६ जना सवार थिए । दुर्घटनामा परेका तीन जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरबोटसमेत सप्तकोसी नदीमा बेपत्ता भएको छ।

बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटबाट गोताखोरसहितको टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकलीबाट पाँच जना गोताखोरसहित नौ जनाको टोली खटिएको छ। त्यस्तै, सुरक्षा बेस रामपुरबाट छ जना, नं. ६ गुल्म धनकुटाबाट डीएसपी राजेश फुयालसहित नौ जना र विपद् व्यवस्थापन बेस मुलघाटबाट सात जनाको टोली परिचालन गरिएको छ।

त्यसैगरी, विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना विपद् व्यवस्थापन जनशक्तिसहित सात जनाको टोली पनि उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *