-आशिका तामाङ
मैले पशुमाथिको क्रूरताको विरोध गर्दा कतिपयले धर्मको विरोध गरेको बुझ्नुभयो। मेरो कुरा त्यो होइन। नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष मानेको छ। २०७८ को जनगणनाअनुसार ८१+ % नेपाली हिन्दु हुनुहुन्छ। बहुसङ्ख्यकले मान्ने धर्मका चाडपर्व र अभ्यास बढी देखिन्छन्, तिनका राम्रा पक्ष र सुधार गर्नुपर्ने कुरा पनि बढी चर्चामा आउँछन् । तर कुनै चलन सुधारौँ भन्नु धर्मलाई ठेस पुर्याउनु होइन। जनावर पनि प्राणी हुन्। उनीहरूलाई पनि दुख्छ, पीडा, डर लाग्छ। बोल्न सक्दैनन् भन्दैमा उनीहरूको पीडा हुँदैन र? मेरो भनाइ यत्ति हो, बाँचुन्जेल अनावश्यक दुःख नदिऔँ। मार्नैपर्ने भए पनि सकेसम्म कम पीडा हुने गरी गरौँ। लखेटी लखेटी, घोची घोची तड्पाउन किन पर्यो? मासु खानुहुन्छ कि खानुहुन्न, त्यो तपाईंको रोजाइ हो। तर दुई वर्षको बच्चादेखि सबैले देख्ने खुला ठाउँमा पशु तड्पाएर मार्ने चलन व्यवस्थित गरौँ। बालबालिकालाई त्यस्तो दृश्य हेर्न बाध्य नपारौँ। बलि दिने ठाउँको व्यवस्थापन र अनुगमन होस्।
यो मेरो भावनाको कुरा मात्रै पनि होइन। नेपालकै मुलुकी अपराध संहिताको दफा २९० ले पशुलाई कुट्ने, सामर्थ्यभन्दा बढी दौडाउने र यातना दिने काम निषेध गरेको छ। यस्तो गर्ने वा गराउनेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै हुन सक्छ। कानुन लेखिएको छ भने लागू पनि हुनुपर्यो।
नेपाल विश्व पशु स्वास्थ्य सङ्गठन, WOAH को सदस्य पनि हो। त्यसको Animal Health Code को अध्याय ७.१ ले पशुलाई अनावश्यक पीडा र त्रासबाट जोगाउने मान्यता राख्छ। यी मापदण्ड आफैँमा हाम्रो दण्ड कानुन होइनन्, तर सदस्य देशका रूपमा तिनलाई व्यवहारमा उतार्न सरकारले काम गर्नुपर्छ। म कसैको आस्था खोस्न खोजिरहेकी छैन। ती अबोध प्राणीको छटपटी पनि देखौँ भनेकी हुँ। बुद्ध जन्मिएको यो भूमिमा हिंसा र क्रूरता कम हुँदै जाओस्। भगवान् पशुपतिनाथसँग मेरो यही प्रार्थना छ।
