डा. युवराज संग्रौला ।
युरोपमा आगोका कारक आप्रवासी होइनन् एकाधिकार पुँजीवादको काँधमा बसेको उग्र दक्षिणपन्थको खेल हो । युरोपमा बलेको आगोको सम्बन्धमा यो मेरो धारणाको दोस्रो शृङ्खला हो । म यस विषयमा किन अलि बढी सोचिरहेको छु ? किनकी अब उप्रान्त संसारमा आन्दोलन भनेकै आगजनी हो भन्ने कुरा एउटा प्रवृत्ति वा संस्कार बन्ने छ। हामीले युरोपको यो आन्दोलनलाई अलि बढी आयामबाट हेर्नुपर्छ र गहिरो सोचका साथ विश्लेषण गर्नुपर्छ।
१. सत्य एउटा अदृश्य छ, तर भ्रमको बीउ रोप्न प्रकट भाष्य तयार पारिएको छ । के साच्चिकै यो घटना आप्रवासीहरूले नै घटाएका हुन् ? होइन, पक्कै होइन । ‘फ्रान्समा १०% मुस्लिम जनसंख्या छ, त्यसैले फ्रान्स जल्यो । अमेरिकामा १% मुस्लिम छन्, १०% पुगेपछि अमेरिका पनि जल्छ’ जस्ता भनाइहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनाइएका छन् । केही मुस्लिम आकृति भएका मानिसका उग्र युरोपविरोधी मन्तव्य पनि सामाजिक सञ्जालमा भाइरल पारिँदै छ । त्यसो भए के आफ्नो देश आफ्नै नागरिकले जलाएका हुन् त ? होइन, यो पनि सत्य होइन । कुरा अलि गहिरो छ। त्यो के हो ?
२. सामाजिक सुरक्षा ध्वस्त पार्ने र एकाधिकार पुँजीवाद लागू गर्ने खेल युरोपमा निकै लामो समयदेखि ‘सामाजिक सुरक्षा वा सामाजिक बीमा’ कार्यक्रम छ, जसअन्तर्गत नागरिकहरूले थुप्रै सेवा–सुविधा प्राप्त गर्दछन् । प्रत्येक युरोपेली देशमा राष्ट्रको निकै ठूलो बजेट सामाजिक सुरक्षामा जान्छ। सामाजिक सुरक्षाको यो व्यवस्था हुनुको एउटा खास कारण छ। स्क्यान्डिनेभियाको संस्कृति नै सामुदायिक छ। यहाँको जलवायु चिसो छ र वर्षभरि उत्पादन हुँदैन। वर्षमा आधा समय त हिउँ जम्छ र खेतीपाती हुँदैन। त्यसैले धेरै पहिलेदेखि नै यहाँ सामुदायिक संस्कृति विकास भयो; किनकि त्यसबेला सामूहिक काम नगर्दा एक्लाएक्लै बाँच्न सम्भव थिएन। यो पृष्ठभूमिले स्क्यान्डिनेभियालाई समाजवादी ढाँचामा अग्रसर गरायो। यी देशहरूमा प्रगतिशील कर प्रणालीमा टिकेको कल्याणकारी राज्य प्रणाली विकास भयो। पूर्वी युरोपमा समाजवादी व्यवस्था थियो र संस्थाहरू सोही अनुरूप समाजवादी ढाँचामा नै विकास भए। जर्मनी र फ्रान्समा पनि सामाजिक न्यायको प्रभाव बढी नै रह्यो। वामपन्थी राजनीतिको प्रभाव यसका पछाडिको एउटा कारण हो ।
तर युरोपमा “एकाधिकार पुँजीवाद र उग्रराष्ट्रवाद’को वकालत गर्ने उग्र दक्षिणपन्थी शक्तिले ‘हामीले विदेशीलाई सामाजिक सुरक्षा दिएर किन गरिब हुने ?’ भनिरहेको छ। नस्लवादको बीउ रोप्ने र उपनिवेशवादलाई जन्माउने कुलिनतन्त्र पनि युरोपकै आविष्कार हो। त्यसको विरासत युरोपमा अझै पनि छ र यो अहिले मौलाइरहेको छ । अतः युरोपको सामाजिक सुरक्षा ध्वस्त पार्न आप्रवासीको नाममा युरोपकै दक्षिणपन्थी नस्लवादको खेल खेलिँदै छ। आगजनी र हिंसा पछाडिबाट यसले नै गराइरहेको छ। एकातिर आप्रवासी धपाउने र अर्कोतिर सामाजिक सुरक्षा प्रणालीको पूर्ण विनाश गरी एकाधिकार पुँजीवाद लागू गर्ने सपना साकार पार्न फ्रेन्च क्रान्तिका बेला भित्रबाट आन्दोलनलाई रक्तपातपूर्ण बनाउन ज्याकोबिनहरूले खेलेको भूमिका अहिले फार–राइटिस्ट (उग्र दक्षिणपन्थी) तत्वहरूले खेलिरहेका छन्। जे होस्, युरोपले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति आइरहेको छ ।
३. युरोपेली बजारमाथि कब्जा जमाउने अमेरिकी रणनीति
दोस्रो कारण युरोपको बजार र युरोपलाई पूर्ण रूपले आफ्नो अधीनमा राख्ने अमेरिकी रणनीति हो । आर्थिक पतनको समस्या भोगिरहेको युरोप चीन, भारत, ब्राजिल र रुससँग व्यापारिक साझेदार हुनुपर्ने बाध्यतामा छ। यदि त्यसो भयो भने युरोपको अमेरिकासँगको गठबन्धन कमजोर हुन्छ र डि–डेलराइजेसन (De-dollarization) को अभियान सफल हुन सजिलो हुन्छ।
अतः युरोपको बजार र युरोप दुवैलाई आफ्नो अधीनमा राख्न अमेरिकी व्यापारिक उपस्थिति आवश्यक छ, तर सामाजिक सुरक्षा र बजार नियमनका कडा कानुनका कारण अमेरिकी कम्पनीहरूलाई युरोपेली बजारमा प्रतिस्पर्धा गर्न सजिलो छैन। त्यसैले युरोपको वर्तमान प्रणाली भत्काउनुपर्ने हुन्छ र त्यो काम फार–राइटिस्ट शक्तिबाट हुने हुँदा अमेरिकी अर्बपतिहरूको यी शक्तिहरूमाथि व्यापक लगानी छ।
अमेरिकी दक्षिणपन्थको खेल अहिले युरोप जल्नुको मुख्य कारण हो, तर गाली भने आप्रवासी र विद्यार्थीहरूले पाइरहेका छन्। युरोप कमजोर हुनु यसमाथि आधिपत्य जमाउन चाहनेहरूको खेल हो। चीन लगायतका दक्षिण–दक्षिण गठबन्धनलाई युरोप विघटन हुनु फाइदाजनक छैन, किनकि यो उनीहरूका लागि लाभदायक बजार हो।
निष्कर्षः
जे होस्, यो आन्दोलनले संसारलाई अस्थिर र हिंसात्मक बनाउने छ। यसको नक्कल पाँच वर्षपछि भारत, पाकिस्तान, बाङ्लादेश, नेपाल सबैतिर पुग्ने छ। एसियाली देशहरूले आफ्नो सुरक्षाको वातावरण बनाउनुको विकल्प छैन। समाजवादी आन्दोलनलाई कमजोर पार्ने कार्य उग्र दक्षिणपन्थको पहिलो रणनीति थियो, अब सामाजिक लोकतन्त्रको पालो हो। यही कारणले युरोपबाट नेपालीहरू फर्केर देशको उन्नतिमा आफूले कमाएको धन र योग्यताको प्रयोग गर्नुपर्छ भनी आह्वान गरिएको हो। युरोप अस्थिरताको चङ्गोलमा फस्दै छ।
