क्रान्तिशिखा धिताल ।
समितिका बैठकमा सञ्चारमाध्यमलाई प्रवेश दिने कि नदिने भन्ने बहस सदन सुरु हुँदै गर्दा निकै चर्किएको थियो। म सञ्चारमाध्यमको प्रवेश रोक्ने पक्षमा कहिल्यै थिइनँ। प्रतिबन्ध लगाउँदैमा कोही जिम्मेवार हुन्छ भन्ने मलाई कहिल्यै लागेन । चाहे जो हो या जे होस, पारदर्शिताबाट डराउने भन्दा पारदर्शिताभित्रै जिम्मेवार बन्ने संस्कार विकास गर्नुपर्छ।
बुधबार दुई जना राजदूतको विषय जसरी संसदीय सुनुवाइ समितिमा उठ्यो र उहाँहरूका नाम अस्वीकृत भए, त्यसले संसदीय सुनुवाइ समितिको शक्ति, अधिकार र भूमिकाको नजिर स्थापित गरेको छ। यो अभ्यास स्वागतयोग्य छ। सार्वजनिक पदमा नियुक्ति हुने व्यक्तिहरूको योग्यता, आचरण र विश्वसनीयतामाथि प्रश्न उठाउने र त्यसको निष्पक्ष परीक्षण गर्ने समितिको अधिकार प्रभावकारी रूपमा प्रयोग हुनुपर्छ। यो अभ्यास आजका लागि मात्र होइन, भविष्यमा पनि सबैले सिक्नुपर्ने महत्त्वपूर्ण संसदीय अभ्यास हो।
यस घटनाको अर्को पाटो पनि उत्तिकै गम्भीर छ। कसैको विगतको समीक्षा गर्नु एउटा कुरा होला त्यही विगतलाई उसको वर्तमान र भविष्यको अन्तिम फैसला बनाइदिनु बिल्कुलै अर्को कुरा हो। वर्षौँअघिका घटनालाई उधिनेर व्यक्तिको सम्पूर्ण जीवनलाई एउटै घटनाको कैदी बनाउनु, त्यसलाई सनसनीपूर्ण ढङ्गले सार्वजनिक गर्नु र त्यसकै आधारमा उसको सम्पूर्ण चरित्रको फैसला सुनाउनु न्यायोचित हुनै सक्दैन । हामी त्यसलाइ किन खत्रा भयो भन्दैछौँ ।
सार्वजनिक जिम्मेवारीमा पुग्ने व्यक्तिको विगत अवश्य परीक्षण हुनुपर्छ। प्रश्न उठ्नुपर्छ, प्रमाण खोजिनुपर्छ र जवाफदेहिता सुनिश्चित गरिनुपर्छ। तर त्यस क्रममा व्यक्तिले त्यसपछिको जीवनमा गरेका परिवर्तन, देखाएको व्यवहार, निर्वाह गरेको जिम्मेवारी र दिएको योगदानलाई पनि मूल्याङ्कनको हिस्सा बनाउनुपर्छ। कसैको विगतमा प्रश्न उठ्नु र ऊ सधैँ त्यही विगतको परिभाषाभित्र सीमित रहनु एउटै कुरा होइन। आरोप लाग्नु र दोष प्रमाणित हुनु पनि एउटै कुरा होइन।
यदि विगतको एउटा घटनाले नै व्यक्तिको सम्पूर्ण भविष्य निर्धारण गर्छ भने सुधारको अर्थ के रहन्छ? पश्चात्तापको मूल्य के रहन्छ ? आफ्नो गल्तीबाट सिकेर बदलिन खोज्ने मानिसका लागि समाजमा ठाउँ कहाँ रहन्छ? कि हामी मानिसलाई बदलिने अवसर नै नदिई उसको पुरानो परिचयमै जीवनभर कैद गर्न चाहन्छौँ?
कुनै व्यक्तिको जीवनका केही पानालाई मात्र देखाएर बाँकी सम्पूर्ण पुस्तकको फैसला सुनाउन पनि मिल्दैन । म यहाँ कसैको पक्षपोषण गर्न खोजिरहेको छैन। मेरो प्रश्न व्यक्ति विशेषको पक्ष वा विपक्षमा हुदै होइन, हामीले अवलम्बन गर्ने न्यायको मापदण्ड र प्रक्रियाबारे हो ।
आफू केन्द्रमा हुँदा, आफ्नै मान्छे यस्तो परिस्थितिमा पर्दा हामी यही मापदण्ड अपनाउँछौँ त ? कि आफूलाई पर्दा परिस्थिति, सन्दर्भ र परिवर्तनका कुरा गर्ने अनि अरूलाई पर्दा विगत उधिनेर चरित्रको फैसला सुनाउने ? न्यायको मापदण्ड व्यक्ति हेरेर बदलिने हो भने त्यो सुविधाअनुसारको नैतिकता का भोगी हौ । मलाइ विश्वास छ हामी त्यस्तो होइनौँ । सार्वजनिक चासोका नाममा कसैको गोपनीयता भङ्ग गर्ने र उसको निजी जीवनलाई सनसनीको विषय बनाउने प्रवृत्तिप्रति हामी सचेत हुनुपर्छ ।
